काठमाण्डौँ । सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउने उद्देश्यले नमूना मतदान तथा मतदानस्थल सुरक्षासम्बन्धी संयुक्त अभ्यास गरिएको छ ।
निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने लक्ष्यसहित जिल्लाको सदरमुकाम खलङ्गास्थित लुहापिङमा उक्त अभ्यास सम्पन्न गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा सम्पन्न अभ्यासमा सुरक्षा निकायहरूले प्रत्यक्ष अभ्यासमार्फत आ(आफ्नो भूमिका प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेपाल सेनाअन्तर्गतको सिद्धबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको सक्रिय सहभागिता रहेको थियो ।
संयुक्त अभ्यासमार्फत मतदान केन्द्रमा हुन सक्ने सम्भावित जोखिम, विवाद तथा भीड व्यवस्थापनका उपायहरूलाई व्यवहारिक रूपमा प्रस्तुत गरिएको थियो ।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलमा विवाद उत्पन्न हुँदा संयमित ढंगले भीड नियन्त्रण गर्ने, संवादमार्फत समस्या समाधान गर्ने, आवश्यक परे न्यूनतम बल प्रयोग गर्ने तथा मतदान प्रक्रिया अवरुद्ध हुन नदिने रणनीति देखाएका थिए ।
त्यसैगरी सशस्त्र प्रहरी बल र नेपाली सेनाले मतदान केन्द्रभित्र हुलदंगा हुन नदिन अपनाइने सुरक्षा घेरा, संवेदनशील क्षेत्रको निगरानी तथा आकस्मिक अवस्थाको तत्काल प्रतिकारसम्बन्धी अभ्यास प्रस्तुत गरेका थिए ।
मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्यालाई व्यवहारिक ज्ञानमार्फत समाधान गर्न सहज होस् भन्ने उद्देश्यले अभ्यास गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेम केसीले जानकारी दिएका छन् ।
नमूना मतदान अभ्यासमा सहभागी निर्वाचन प्रहरीलाई महिला, पुरुष, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा सुत्केरीप्रति गर्नुपर्ने व्यवहारका विषयमा समेत व्यवहारिक ज्ञान दिइएको उनले बताए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्