म्याग्दीमा महावीर पुनको व्यक्तित्वसँग दलगत साङ्गठनिक विरासत प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक र नयाँ दृश्य देखिएका छन् ।

चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उम्मेदवारले मत माग्नेदेखि चुनावी प्रतिबद्धता पूरा गरेकामा विपक्षी पार्टीका जनप्रतिनिधिका नेतृत्वमा पूर्वसांसदलाई सम्मान गरेका हुन् ।

अनौपचारिक शैलीमा टोलटोलमा पुगेर चुनाव प्रचार गरिरहेका स्वतन्त्र उम्मेदवार डा। महावीर पुनलाई विभिन्न ठाउँमा आमा समूह र स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरिरहेका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुर्ख्यौली थलो म्याग्दीमा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धाका लागि होमिएका पुनलाई उनको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी, मालिका गाउँपालिका–५ पन्थोक, ४ च्युरीबोटलगायत ठाउँमा मतदाताले स्वस्फूत आर्थिक सहयोग गरेका छन् ।

केही दिनअघि फरकफरक पार्टीका दुई जना उम्मेदवारले एउटै मञ्चबाट मत मागेको अन्नपूर्ण–१ दोवामा शनिबार चुनावी प्रतिबद्धता पूरा गरेको जनाउँदै नेकपा ९एमाले०बाट निर्वाचित वडाध्यक्षका नेतृत्वमा स्थानीयवासीले तत्कालीन नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित गण्डकी प्रदेशका पूर्वसांसद विनोद केसीलाई सम्मान गरेका छन् ।

एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप) ले गत माघ २७ गते दोवामा मतदाता भेटघाट र आफ्ना विचार व्यक्त गर्न एउटै मञ्च प्रयोग गरेका थिए । सोही स्थानमा शनिबार नेकपाका उम्मेदवार अर्जुन थापालाई लिएर चुनाव प्रचारका लागि पुगेका २०७४ सालमा म्याग्दी (क) बाट निर्वाचित प्रदेश सांसद केसीलाई एमालेबाट निर्वाचित वडाध्यक्ष दिलीप गर्बुजाको नेतृत्वमा सम्मान गरेका हुन् ।

पूर्वसांसद केसीले २०७४ सालको चुनाव प्रचारका क्रममा दोवामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधाको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । आर्थिक वर्ष २०७५÷७६ देखि प्रदेश सरकारमार्फत सुरु भई करिब पाँच करोड रुपैयाँ लगानीमा गतवर्ष सम्पन्न भएको दोवा खानेपानी योजनाबाट ४ सय २२ घरपरिवार लाभान्वित भएका छन् ।

मतदानको मिति नजिकिँदै गर्दा जिल्लाका राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले एकै दिन तीनदेखि छ ठाउँमा चुनावीसभा र नेता, कार्यकर्ता टोलटोलमा पुगेर घरदैलो गर्न थालेपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ । उम्मेदवारले घरदैलोदेखि सामाजिक सञ्जाललाई चुनाव प्रचारको माध्यम बनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *