काठमाण्डौँ । हिमाली जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्रमा हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान सामग्री, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी ढुवानी गर्न भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण माथिल्लो डोल्पाका २३ मतदान केन्द्रमा निर्वाचन व्यवस्थापनका लागि हेलिकप्टरकै भर पर्नु परेको हो ।
जिल्लाका उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, छार्का ताङ्सोङ र डोल्पोबुद्धका बस्तीहरूमा सडक पहुँच नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । पैदल हिँड्दा धेरै दिन लाग्ने भएकाले हेलिकप्टर नै प्रयोग गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठ बताउँछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष मतदाता ११ हजार ९ सय २८ छन् ।
कुल ६८ वटा मतदान केन्द्रमध्ये २६ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । २४ संवेदनशील र १८ सामान्यको सूचीमा राखिएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठको भनाई छ । उनका अनुसार २३ वटा मतदान केन्द्र भौगोलिक तथा सुरक्षा चुनौतीका हिसाबले र तीन वटा मतदान केन्द्र राजनीतिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएको हो ।
भौगोलिक हिसाबले अति संवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रहरू अधिकांश माथिल्लो डोल्पाका रहेका छन् । निर्वाचन सुरक्षाका लागि जिल्लामा कुल ३५५ जना नेपाल प्रहरी र ५७९ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ । त्यस्तै ३÷३ सयकै हाराहारीमा नेपाली सेना र सशस्त्र प्रहरी बल समेत परि चालन गरिने कार्यालयले जनाएको छ ।
जिल्लामा २ वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । तीमध्ये एउटा कारागारभित्र रहेका कैदीबन्दीका लागि व्यवस्था गरिएको हो भने अर्को जिल्ला भित्र कार्यरत कर्मचारीहरूका लागि जिल्ला समन्वय समितिको प्राङ्गणमा मतदानको व्यवस्था गरिएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्