काठमाण्डौँ । चितवनको भरतपुर महानगरपालिका २, आँपटारीस्थित इन्द्रेणी टोलमा डेरा गरी बस्दै आएका एक पुरुषको मृत्यु भएको छ ।
आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिउँसो करिब साढे १ बजेको समय तिर उनी कोठामा अचेत अवस्थामा फेला परेका थिए ।
छिमेकीहरूले उनलाई अचेत अवस्थामा देखेपछि तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
सुरुमा छिमेकीहरूले मृतकलाई अन्दाजी ५०/५५ वर्षका बल बहादुर प्रजा भनेर चिनाएका थिए। तर, प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा उनको वास्तविक पहिचान खुलेको छ ।
मृतक मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-६ का ५६ वर्षीय बर्मा लाल प्रजा रहेको प्रहरीले पुष्टि गरेको छ ।
अस्पतालमा खटिएका प्रहरीमार्फत घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक हवल्दार अभिषेक थापाको कमान्डमा घटनास्थलमा टोली खटिएको थियो ।
प्रहरीका अनुसार मृतक प्रजा उक्त कोठामा एक्लै बस्दै आएका थिए । हालसम्म उनका आफन्तहरू कोही पनि सम्पर्कमा नआएको र घटनाको थप अनुसन्धान तथा आफन्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्