काठमाण्डौँ । काठमाडौँ उपत्यका र पहाडका जिल्लाहरूमा आज रङहरूको पर्व फागु पूर्णिमा (होली) मनाइँदै छ ।
उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा स्थानीय प्रशासनले सार्वजनिक स्थान र खुला सड्कमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयहरूले कडाइ गरेसँगै सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकामा विगतमा जस्तो तडक–भडक देखिएको छैन ।
होली मनाउँदा मादक पदार्थ सेवन गरेर सवारी साधन दौडाउने र हुलदङ्गा गर्नेहरूलाई अघिल्ला वर्षहरूमा प्रहरीले नियन्त्रणमा लिने गरेको थियो । अघिल्ला वर्षहरूमा काठमाडौँको वसन्तपुरसहित धेरै ठाउँमा स्टेज बनाएर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिएको थियो । निर्वाचन सुरक्षाको कारण प्रशासनले कडाइ गरेपछि यसपटक काठमाडौँमा स्टेज कार्यक्रम राखिएको छैन ।
उपत्यकामा स्थानीयहरूले होली पर्व शान्तिपूर्ण रूपमा मनाइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० प्रवीण धितालले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा २ हजार ५ सय मानिस भेला भएका छन् । वसन्तपुरमा करिब ३ सय मानिस भेला भएको र अन्यत्र भिडभाड नरहेको एसपी भट्टराईले बताए ।
उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरूले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेका थिए । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो । यस वर्ष मञ्च बनाएर साङ्गीतिक कार्यक्रम गर्न रोक लगाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
होलीको अवसरमा मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि स्थानीय प्रशासनले रोक लगाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्