काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले सरकारे सरुवा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाएको छ । संगठनले पटकपटक बिनाकारण सरुवा गर्दा कर्मचारीमा मानसिक रुपमा दवाव सिर्जना भएको जनाएको छ ।
संगठनको पौष १९ र २० गते बसेको केन्द्रीय कार्यसमितिको तेस्रो बैठकका बारे पत्रकार सम्मेलन गर्दै संगठनले यो जानकारी दिएको हो । सार्वजनिक प्रशासनमा महिलाको पहुँच बढाउन आगामी वैशाखमा राष्ट्रिय महिला भेला गर्ने निर्णय गरेको छ । संगठनले प्रकाशित गरेको विज्ञप्तीमा ‘सांगठनिक सुदृढीकरण तथा आन्तरिक जीवन सम्बन्धमा’ मा भनिएको छ ‘ सार्वजनिक प्रशासनमा महिलाहरुको पहुँच बढाउन, कार्यस्थलमा हुने भेदभावको अन्त्य, नेतृत्व विकास, समस्या, भावी लक्ष्यसहितको विविध पक्षहरुम छलफल गर्न मिति २०८३ वैशाखमा राष्ट्रिय महिला भेलाको आयोजना गर्ने ।’ संगठनले संगठनको आन्तरिक जीवनलाई क्रियाशील र प्रभावकारी बनाउँदै नवप्रवेशी कर्मचारीहरुलाई संगठनप्रति आकर्षण बढाउन आगामी फाल्गुणमा ‘युवा तथा अध्यक्ष’ हरुको भेला पनि गर्ने निर्णय गरेको छ ।
संगठनले पहिलोपटक युवा विभाग गठन गरेको संगठनकी अध्यक्ष भवानी दाहाल न्यौपानेले बताइन् । संगठनले आफूहरु जनताको काममा निरन्तर लाग्दै आएको भए पनि सरकारले आफ्नो कामको मूल्यांकन नगरेको पनि गुनासो गरेको छ । संगठनले समसामयिक राजनीति गतिविधिका साथै संगठनका भावी योजना पनि सार्वजनिक गरेको छ ।
संगठनले सरकारका हरेक गतिविधिमा आफ्नो सक्रिय सहभागिता रहने र सरकारलाई सहयोग गर्ने जनाएको छ । आगामी निर्वाचन सफल बनाउन संगठन लाग्ने भन्दै अध्यक्ष न्यौपानेले निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा सरकारले गर्नुपर्ने बताइन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्