फेसबुकमा ओलीको आलोचना गरेकै कारण हटाइए अनेरास्ववियु अध्यक्ष उज्वल सिग्देल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १६

काठमाण्डौँ । नेकपा एमाले निकट अनेरास्ववियु सुनसरीमा आन्तरिक विवाद चरम बिन्दुमा पुगेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको र जेनजी आन्दोलनलाई समर्थन गरेको आरोपमा जिल्ला अध्यक्ष उज्ज्वल सिग्देललाई हटाइएको छ ।

धरानमा आयोजित भेलाले सिग्देल नेतृत्वको कमिटीलाई भङ्ग गरेर शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

रेग्मीको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएकोमा उपाध्यक्षमा आदित्य खड्का र सचिवमा अरुण चौधरी चयन भए। त्यस्तै सहसचिव इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङलाई जिम्मेवारी प्रदान गरिएको छ। कोषाध्यक्ष सज्नु खड्का र कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भए।

जेनजी आन्दोलन नै सिग्देलको ‘अपराध’ ?

पार्टी नेतृत्वसँग सिग्देलको टकराव जेनजी आन्दोलनसँग जोडिएको छ । जेनजी आन्दोलनको क्रममा एक युवा विद्यार्थीको हत्या भएपछि सिग्देलले तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग्दै सार्वजनिक रूपमा कडा आलोचना गरेका थिए ।

उनले ओलीमाथि ‘विद्यार्थीको लासमाथि उभिएर प्रधानमन्त्री बन्नु लाजमर्दो हो’ भन्दै टिप्पणी गरेका थिए। यही अभिव्यक्तिलाई आधार बनाएर उनलाई पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोप लगाइएको छ ।

सिग्देलले अनेरास्ववियुलाई ‘ओलीलाई भगवान् मान्ने गुटको संगठन’ भन्दै सार्वजनिक रूपमा आरोप लगाउँदै आएका छन् । विद्यार्थी हत्या जस्तो घटनामा पनि विरोध गर्न नसक्ने अवस्थामा संगठन पुग्नु गलत भएको उनको टिप्पणी छ ।

अनेरास्ववियुमा यसअघि पनि यस्तै घटनाक्रम देखिएको छ। केन्द्रीय अध्यक्ष सुजन कडरियालाई जेनजी आन्दोलनमा सहयोग गरेको र सामाजिक सञ्जालमा राजीनामासम्बन्धी अभिव्यक्ति दिएको आरोपमा हटाएर दीपक धामीलाई अध्यक्ष बनाइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *