काठमाण्डौँ । काठमाण्डौं महानगरपालिका वडा नम्बर २९ को आयोजनामा ‘प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस’ प्रतियोगिता हुने भएको छ ।
माघ ९ र १० गते सञ्चालन हुने उक्त प्रतियोगितामा ३३ जना खेलाडीलाई कुल तीन लाख २८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष कुश ढकालले जानकारी दिए ।
उनले प्रतियोगितामा नेपालका शीर्ष खेलाडीलगायत विदेशी खेलाडीको समेत सहभागिता रहने जानकारी पनि दिए ।
वडा सदस्य एवं कार्यक्रमका संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताको विजेताले ३५ हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २५ हजार र चौथो हुने खेलाडीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, पाँचौंदेखि सातौंसम्म आउने खेलाडीले समान १७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आठौंदेखि १०औं हुने खेलाडी जनही १५ हजार तथा ११औंदेखि १५औं स्थानसम्म आउने खेलाडीले जनही सात हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।
यसैगरी, महिलातर्फ पहिलोले सात हजार, दोस्रोले ६ हजार र तेस्रो हुने खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । बेस्ट अनरेटेडतर्फ पहिलोले पाँच हजार, दोस्रोले चार हजार र तेस्रोले तीन हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
यसैगरी, भेट्रानतर्फ पहिलोले पाँच हजार, दोस्रोले चार हजार र तेस्रो हुने खेलाडीले तीन हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
यसैगरी, यू–१४, यू–१२ र यू–१० उमेर समूहका विजेताले पनि नगद पुरस्कार पाउने छन् । रेटिङ १८०० मुनि र रेटिङ १६०० मुनिका विजयी खेलाडीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता डिल्लीबजारस्थित २९ नम्बर वडाको आफ्नै भवनमा सञ्चालन हुने जानकारी प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेतले दिए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्