
काठमाण्डौँ । मिर्गौला प्रत्यारोपणपछि सगरमाथा चढेर कीर्तिमान बनाएका पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मान गरेको छ । शुक्रबार बिहान मन्त्रालयमा एक समारोह आयोजना गरी उनलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेल, स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठ लगायतको उपस्थिति थियो । स्वास्थ्य मन्त्री पौडेलले पेम्बा र उनको परिवारका सदस्यलाई समेत सम्मान गरेका हुन् ।
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ सोलावनका ३६ वर्षीय पेम्बाले गत वैशाख ३१ गते सगरमाथा आरोह गरेका थिए । उनको २०७९ कार्तिक २ गते भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
मिर्गौला प्रत्यारोपण गरेको कोही पनि व्यक्तिले अहिलेसम्म सगरमाथा आरोहण गरेका थिएनन् ।
कार्यक्रममा पेम्बाले आफ्ना अनुभवहरू सुनाएका थिए । आफन्त र चिनजानका धेरैले हिमाल नचढ्न आग्रह गर्दा पनि नमानी अगाडि बढेको उनले सुनाए । मृत्युबाट उम्केर बल्लतल्न नयाँ जीवन पाएको मान्छे फेरि मृत्युको मुखमा किन जान्छस्, भनेर धेरैले सम्झाएको बताएका छन् । मिर्गौला प्रत्यारोपण गरेको मान्छे, अरुसँग सहयोग उठाएर २५–३० लाख खर्च गरेर सगरमाथा चढ्न खोजेको देख्दा धेरैले आफैलाई मूर्ख ठानेको बताए । सक्दैनस भनेर धेरैले भन्दा झन् चढेरै छाड्ने इख पलाएको पेम्बाले बताएका छन् ।
आफ्नो मूर्खताले नै सफलता दिलाएको उनको तर्क छ ।
मलेसियामा ठूलो दुर्घटनामा परेर बाँचेको अनि मिर्गौला फेल भएको मृत्युको मुखमा पुग्दा प्रत्यारोपण गरेपछि पुनर्जीवन पाएको पेम्बाले बताए । पेम्बाका अनुसार मलेसियामा दुर्घटनामा पर्दा मृत्यु भयो भनेर नेपालमा परिवारले उनको नाममा पूजा पाठ गर्ने तयारी गरिसकेका थिए ।
उनले आफूहरू सानो बेलामा भारी बोकेर सगरमाथाको बेस क्याम्प जाँदाको समय र अहिले त्यहाँको अवस्था धेरै फरक भएको बताए । हिउँ जलवायु परिवर्तनका कारण हिउँ पग्लेर हिमाल कुरुप हुँदै गएकोमा उनले चिन्ता व्यक्ति गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मिर्गौला प्रत्यारोपित पेम्बाले सगरमाथा चढ्नुको धेरै ठूलो अर्थ रहेको बताए । मिर्गौला प्रत्यारोपणका बारेमा उठ्ने धेरै प्रश्नको जवाफ पेम्बाको यो साहसले दिएको भन्दै मन्त्री पौडेलले प्रशंसा गरेका छन् ।
‘
मन्त्रालयमा सम्मानपछि शुक्रबार दिउँसो राष्ट्रिय प्रत्यारोपण केन्द्रले पेम्बाको सम्मानमा भक्तपुर दरबार क्षेत्रमा र्याली निकालेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया