
काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा विचार एवं सिद्धान्तको महत्वलाई उपेक्षा गर्ने प्रवृत्ति बढ्दै गएको तथा वैचारिक सैद्धान्तिक स्खलन भइरहेको निष्कर्ष निकालेका छन् । पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक दस्ताबेजमा क्रान्तिकारी सिद्धान्तविना क्रान्ति हुन नसक्ने सत्यलाई गहिरोसँग आत्मसात् गर्नुपर्ने आवश्यक रहेको प्रचण्डले बताएका छन् ।
अध्ययन, छलफल र वैचारिक अभियानलाई क्रान्तिकारी पार्टी जीवनको अभिन्न अंग बनाउनु पर्नेमा उनले जोड दिएका छन् । प्रचण्डले केन्द्रीय पार्टी स्कुल व्यवस्थितरुपमा निरन्तर सञ्चालन गर्नु पर्ने, पाठ्यक्रम, पाठ्यसामग्रीहरूको तयारी र नियमित पार्टी स्कुलको सञ्चालनलाई प्राथमिकताको विषय बनाई ठोस कार्य योजनाका साथ अघि बढ्नुपर्ने, प्रदेशस्तरमा पनि पार्टी स्कुल नियमित रूपमा सञ्चालन गर्नु पर्ने बताएका छन् ।
माओवादीले वैचारिक र सैद्धान्तिक पक्षलाई ध्यानमा दिएर यसपटक पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरूको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ । जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र महासचिवसम्मका पदाधिकारीहरूलाई राजनैतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरूका जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
जनप्रतिनिधि रहेका केही पदाधिकारी कमरेडहरूलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरूमा केन्द्रित गरिएको छ । उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरू र केन्द्रीय सदस्यहरूलाई प्रदेशहरूको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया