×

सर्वोत्तम सिमेन्टको आईपीओ खुल्याे

फाल्गुन १३, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्य निर्धारण भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा सर्वसाधारणलाई आवेदन खुलेको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

फागुन १६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो । यसअघि प्रभावित स्थानीयका लागि खुलाइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता बिक्री नभएपछि सो समेत थप गरी सर्वसाधारणका लागि निष्कासन भएको हो ।

बुक बिल्डिङ पद्दतीबाट सर्वसाधारणका लागि कम्पनीको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भएको छ । यो पद्दतीबाट आईपीओ जारी गर्ने कम्पनीमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । तसर्थ आईपीओ भर्न कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिन्छ । सो रकम बैंक खातामा मौज्दात नभएमा आवेदन नै रद्द हुन्छ ।

नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ । पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ । आर्थिक वर्ष २०७७र७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८र७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: