शिक्षक सेवा आयोगको परिक्षाले देशभरका विद्यालयको पठनपाठन प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १३

१३ चैत, काठमाडौं – शिक्षक सेवा आयोगको परीक्षाका कारण विद्यालय पठनपाठन प्रभावित बनेको छ ।

चैत १५, १७, १९ र २१ गते हुने परीक्षा दिन शिक्षकहरु विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक परीक्षामा सामेल हुन भन्दै बिदामा बसेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।

कोरोना महामारीको कारण पठनपाठन प्रभावित बनेपछि चैतभर पढाइ हुने र वैशाखमा मात्रै परीक्षा गर्ने, नतिजा प्रकाशन गर्ने तथा भर्ना सुरु गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको थियो । तर केही शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहहरुले शिक्षक सेवा आयोगको परीक्षाको कारण आगामी वर्षे विदामा कट्टा हुने गरी ६ दिनको विदा दिएका छन् ।

महोत्तरी जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले सबै पालिकाहरुलाई सम्बोधन गर्दै शिक्षक महासंघ महोत्तरीको निर्णय तथा मागबमोजिम शिक्षक सेवा आयोगको परीक्षाका लागि ६ दिन स्थानीय विदा दिन अनुरोध गरेको छ । जसमामाध्यमिक, निम्न माध्यामिक र प्राथमिक तहका शिक्षकहरुलाई खुल्ला तथा बढुवा सम्बन्धी प्रतियोगितात्मक परीक्षाको स्थायी, करार तथा राहत शिक्षकहरु परीक्षार्थी हुने भएकोले १३ गतेदेखि १८ गतेसम्म आगामी वर्षे विदाबाट अनिवार्य रुपमा कट्टा गर्न भनेको छ ।

तर बर्दिवास नगरपालिकाले भने विद्यालय विदा नदिने निर्णय गरेको नगरपालिका शिक्षा, युवा तथा खेलकुदका स्रोत व्यक्ति सुर्यनारायण दासले बताए । उनले भने ‘कोरोनाको कारण धेरै समय पठनपाठन भएन । अहिले पनि विदा दिएर त पढाई छुट्छ, वैशाखमा परीक्षा छ । त्यसैले हामी विद्यालय विदा नदिने निर्णय गरेका छौं ।’

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भरतराज शर्माले शिक्षक महासंघको अनुरोधमा सिफारिस मात्रै गरिएको बताए । उनका अनुसार अहिले लोहारपट्टि गाउँपालिकाले मात्रै १५ गतेदेखि ३ दिन बिदा दिएको बताए । अधिकांश शिक्षक परीक्षाको तयारी गर्न भन्दै विदा बस्न थालेपछि पठनपाठन नहुने र विद्यार्थीलाई अल्झाउने काम मात्रै भएकोले विदा दिनको लागि सिफारिस गरिएको प्रमुख शर्माले बताए ।

यस्तै बाराको सुवर्ण गाउँपालिका, पर्साको पोखरीया नगरपालिका, तेह्रथुमको छथर गाउँपालिका, डडेल्धुराको परशुराम नगरपालिका लगायतका केही स्थानीय तहहरुले ६ दिनसम्म विद्यालय बिदा दिएको छ ।

तेह्रथुमको छथर गाउँपालिकाले सबै शैक्षिक संस्थाहरुलाई पत्राचार गर्दै १३ गतेदेखि १८ गतेसम्म विदा गरिएको व्यहोरा उल्लेख गरेको छ ।

 बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् ।

शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन् ।गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ ।

शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।

त्यस्तै गरी कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत)तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवाको परीक्षा चैत २१ गते हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *