भुकम्प पछिको कुमारी घर ;प्राविधिक अध्ययन गरेको ६ वर्ष बितिसक्दा पनि टेकोका भरमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १७

काठमाडौ :कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे। तीनवटै निकायले एक-एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको ६ वर्ष बितिसक्दा पनि भवन भने टेकोका भरमा अडिएको छ। कुनै पनि निकायले पुनःनिर्माणमा चासो देखाएका छैनन्।

सनातनदेखि चली आएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरुआत मल्लकालमा भयो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउँछन्। त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनःनिर्माण भएको  छैन। पच्चीस वर्षअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्रै जीर्ण बनेको छ।

भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ। इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ। 

भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने यसै वर्ष इन्द्रजात्रा बेला निकालियो, भर्‍याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन,’ उनले भने।

धेरै विदेशी पर्यटकको आवतजावत हुने वसन्तपुर डबली क्षेत्रमा राखिएको टेकोले नकारात्मक सन्देश प्रवाह गरे पनि पुनःनिर्माण नहुनु दुःखद् भएको यहाँ अवलोकनका लागि आएका राजेन्द्र डङ्गोल बताउँछन्।

जीवित देवीका रुपमा पुजिने कुमारी घर बनाउन गत आर्थिक वर्षमै काठमाडौं महानगरपालिकाले ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन। गत आर्थिक वर्षमा वडा नम्बर २३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरु हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले बताए।

महानगरपालिकाले चालू आर्थिक वर्षमा कुमारी घर पुनःनिर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ। पुनःनिर्माणका लागि तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको छ। पुनःनिर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउँछन्।

घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई

कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ। इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ। वडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ। रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *