समय आएपछि मात्र निर्वाचन हुन्छ: प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताउनुभएको छ ।

उद्योग सङ्घ चितवन शाखाको ३० औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उहाँले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताउनुभएको हो ।

“सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो । हिजोदेखि दुर्घटना ट¥यो,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु । सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।”

देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उहाँले जोड दिनुभयोे, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ ।”

अध्यक्ष दाहालले भन्नुभयो, “तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ ।

यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।” निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उहाँले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिनुभयो ।

कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।

उहाँले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि रु पाँच करोड बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताउनुभयो ।

उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको समस्याका बारेमा अवगत गराउनुभएको थियो भने प्रदेशसभा सदस्य कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ लगायतले समसामयिक विषयमा चर्चा गर्नुभएको थियो । सङ्घको आजै नयाँ नेतृत्व चयन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *