काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट विचारबाट च्यूत र पतन भइसकेको बताएका छन् ।
बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले एमाले सबै हिसाबले पतनको दिशाको गएको भन्दै अघि भने, नेकपा एमाले पतनको दिशामा गइसकेको छ, अन्तिम प्रयास गर्दा पनि यो पार्टीलाई ठीक ठाउँमा ल्याउन नसकिने निष्कर्ष हामीले निकालेका थियौँ। अहिले भानुभक्त कमरेडले पनि त्यही निचोड निकाल्नु भयो।
अन्तिम प्रयास गर्दा पनि एमालेलाई बचाउन नसकिने निष्कर्षका साथ आफूहरूले नयाँ पार्टी निर्माण गरेको नेपालले बताए।
अध्यक्ष नेपालले गोदावरीमा सम्पन्न विधान महाधिवेशनलाई पनि तमासाको संज्ञा दिए । पछिल्लो पटक एमालेले गरेको विधान महाधिवेशनको तमासाबाट यसलाई सुधार्न नसकिने भयो भनेर कमरेड भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ, उनले भने, उनीहरुले सबैतिर भ्रम फैल्याइरहेका छन्। एमालेको भ्रममा बसिरहेको त्यो पंक्तिमा पनि सत्यतथ्य कुरा पुर्याउनुपर्ने आवश्यकता छ।
विधान महाधिवशेनको नाममा गरिएको भेला र त्यसले अघि सारेका कुरा पनि गलत देखिएको नेपालको टिप्पणी छ।
अर्को क्रान्तिकारी पार्टी बनाउनुपर्ने निष्कर्षका साथ भानुभक्त जोशी एकीकृत समाजवादी प्रवेश गरेको नेपालले बताए।
‘केपी ओलीलाई सुधार गर्न सकिँदैन भन्नेमा थियौं। त्यही पनि अन्तिमसम्म प्रयास गर्यौं। उनी सुध्रिएनन्’ नेपालले भने।
लामो समयदेखि चलिरहेको अन्तरसंघर्ष फेस गर्न नसकेर ओलीले संसद् विघटन गरेको नेपालले दाबी गरे।
भानुभक्त जोशीजस्तै थुप्रै नेताहरू एकीकृत समाजवादीमा आउने नेपालले बताए। एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउने नेपालले घोषणा गरे।
दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्