पोखरा । कास्कीका एमाले जनप्रतिनिधि पार्टी विभाजनको पक्षमा खासै देखिएनन् । दुई सय ८२ निर्वाचित जनप्रतिनिधिमध्ये कास्कीबाट चारजना वडा सदस्यले माधवकुमार नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । तीमध्ये दुईजना कार्यपालिका सदस्य दुईजना वडा सदस्य छन् ।
मादी गाउँपालिकाका कार्यपालिका सदस्य तथा मादी-११ का वडा सदस्य नरबहादुर लामा, माछापुच्छे गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ८ का सदस्य लालबहादुर परियारले नेकपा (एस) रोजेका हुन् । यस्तै माछापुच्छे-७ कै सदस्य बाबुराम भण्डारी र रुपा-५ का सदस्य दामोदर भण्डारी पनि विभाजनको पक्षमा उभिए ।
पोखरा महानगरका केही वडाध्यक्ष विभाजनमा उभिने बताइए पनि अन्तिम समयमा उनीहरु एमालेमै रहे । योसँगै कास्कीमा नेपालको पार्टी कमजोर सावित भएको छ । कास्कीबाट नेकपा (एस) मा चारजना केन्द्रीय सदस्य छन् । ९२ सदस्यीय जिल्ला कमिटीका ६ जना मात्रै नेपालको पक्षमा खुलेका छन् ।
एक महानगरसहित पाँच स्थानीय तहमा ७२ वटा वडा छन् । महानगरको प्रमुख र उपप्रमुखसहित तीनवटा गाउँपालिका अध्यक्ष र चारवटै गाउँपालिका उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया