इजलास छाडेर जान प्रधानन्यायधिशलाई दबाब, भागवण्डाको विषयमा इजलासमै चर्काचर्की

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ११

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा भएका नियुक्तिविरुद्धको रिटको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश राणासहित, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा सुनवाइ जारी रहेको हो ।सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधान न्यायाधीश बस्न नहुने माग भएको छ ।

प्रधान न्यायाधीशको अध्यक्षतामा गठित इजलासमा सुनुवाइ शुरु भए लगत्तै रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद बैठकमा प्रधान न्यायाधीशको मनसायपूवृक उपस्थिति रहेको र अध्यादेश आउन पनि राणा जिम्मेवार भएको जिकिर गरेका छन् ।

उनले संवैधानिक परिषदका नियुक्तिमा प्रधान न्यायाधीशले पनि भागबण्डा लिएका र उनका मान्छेले नियुक्ति पाएको कारण इजलास छाड्नुपर्ने र बिदा बस्दा हुने सुझाव दिएका छन् । संविधान अनुसार संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश हुनुपर्छ ।

जवाफमा प्रधानन्यायाधीश जबराले आफू इजलासमा नबस्दैमा वा बिदा लिएर बस्दैमा निकास नआउने दाबी गरे । उनले भने, ‘तपाई विश्वस्त हुनुस्, चार जनाले दिएको रायमा म पूर्ण सहमत हुन्छु तर संवैधानिक इजलासमा म बस्छु ।’

उनले आफू इजलासमै नबस्ने भन्ने कुरा अव्यवहारिक हुने तर्कसमेत गरे । उनले भने, ‘सबैभन्दा राम्रो भनेको छ इजलासमा नबस्दा नै हुन्छ भन्ने हो तर यो एकै दिनमा सकिन्छ र ? अनि म महिनौं बिदा लिएर बस्नु ?’

अर्यालले भने आफ्नो मुद्दामा आफै न्यायाधीश हुनु हुँदैन भन्ने आफ्नो आशय रहेको प्रस्ट पारे । उनले भने, ‘आफ्नो मुद्दामा आफै न्यायाधीश हुनु हुँदैन भन्ने न्यायिक सिद्धान्तअनुसार बिदा लिएर सहयोग गरिदिनुस् भन्ने मेरो अनुरोध हो ।’

उनले चार न्यायाधीशको रायसँग सहमत हुन्छु भनेर जनाएको प्रतिवद्धतामाथि प्रश्न गर्दै भने, ‘अन्य चार न्यायाधीशमध्ये दुई–दुईको अवस्था भयो भने के गर्ने ?’ क्रममा अधिवक्ता ओम प्रकाश अर्यालले प्रधानन्यायाधीशले समेत भागबण्डा लिएर संवैधानिक नियुक्ति गरिएको आरोप लगाएका थिए ।

सो आरोपको जबराले तत्काल खण्डन गरे । ‘मैले भागबण्डा लिएको प्रमाण तपाईंसँग के छ ? व्यक्तिगत आरोप नलगाउनुहोस्,’ प्रन्या जबराले आक्रोशित हुँदै भने । त्यसपछि अर्यालले बाहिर जनताले भनिरहेका छन् भन्दा जबराले बाहिर भने भन्दैमा इजलासमा यस्ता कुरा गर्न मिल्दैन भनेर खण्डन गरेका थिए ।

बहसका क्रममा अर्यालले ‘प्रधानन्यायाशीध राणाले समेत भागबण्डा लिएर संवैधानिक नियुक्तिहरु भए। बिहान बैठकमा कोरम नपुग्ने अनि बेलुका अध्यादेश जारी गरेर नियुक्ति गर्ने सरासर गलत हो’, भनेका थिए। अर्यालले भागबण्डा गरेको भनेपछि संवैधानिक इजलासमै राणा आक्रोशित भएका हुन्।

राणा आक्रोशित भए पनि अर्याल आफ्ना कुरामा अडिग रहे। उनले प्रधानन्यायाधीश समेतले भागबण्डा गरेको कुरा बाहिर जनताले भनिरहेको बताए। ‘प्रधानन्यायाधीशले पनि भागबण्डामा नियुक्ति भयो भने बाहिर जनताले भनिरहेका छन् श्रीमान्’, अर्यालले थपे।

जनताले भनिरहेका छन् भनेपछि राणा थप आक्रोशित भए। ‘बाहिर जनताले भने भन्दैमा तपाईँले यहाँ भन्न पाउनुहुन्न’, राणाले भने। उनले आफ्नाविरुद्धको रिट आफै हेर्नुपरिरहेकाले बरु त्यसको विकल्प दिन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *