काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा एमालेलाई आफ्नो निजी कम्पनीजस्तो बनाएपछि विद्रोह गर्नुपरेको बताएका छन् ।
निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेता नेपालले ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबै मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि नयाँ पार्टी बनाउनुपरेको बताए ।
उनले भने, ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो। केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सबै मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएपछि, ओली व्यक्तिवादको घोडामा सवार भएपछि, पार्टीलाई आफ्नो निजी कम्पनी जस्तो ठानेपछि, हामीहरुलाई कारबाही गरी पार्टीबाट निष्कासित गरेपछि हामीसँग विद्रोह गर्नुको विकल्प भएन।’
नेपालले पत्रकार सम्मेलन गर्दै नयाँ पार्टी गठन गरेर नयाँ अध्याय सुरु गरेको बताए ।
उनले पत्रकारसँग बोल्दै नेकपा एमालेको नेतृत्व जसले गरे पनि झलनाथ खनाल, मुकुन्द न्यौपाने आफू लगायतका मुख्य नेता भएको बताए ।
उनले आफ्नो साथ छोड्ने दोस्रो धारलाई संकेत गर्दै हिम्मत नभएकाहरू त्यत्तिकै थन्किने तर क्रान्तिकारी विचार बोकेकाहरू भने नयाँ आनदोलनमा अघि बढ्ने प्रस्ट पारे ।
हिम्मत नभएकाहरू त्यत्तिकै थन्किन्छन्, त्यसको सामना गर्ने आँट राख्दैनन्, उनले भने तर क्रान्तिकारी चेत भएकाहरू नयाँ आन्दोलन सृष्टि गर्ने सोचका साथ अघि बढ्छन् ।’
यस्तै नेता नेपालले आफूलाई उचालेर दोस्रो धारका नेताहरू बीचमै थाकेको, आँट गर्न नसकेको आरोप लगाए ।
सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल पक्षले एमाले छाडेर नयाँ पार्टी दर्ता गरेको हो ।
नेकपा एमालेबाट विभाजन भएर गएको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका थिए ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्