×

दिदीको स्थान लिने हैन, आफ्नै स्थान बनाउँछु : प्रीति राई

भदौ १०, २०७८ | दाक्सु मिडिया

काठमाडौं- आगामी मंसिरमा प्रीति राई १७ वर्ष लाग्दैछिन् । काठमाडौं निवासी प्रीतिले सानो उमेरमै राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाउन सफल भइन् । नेपाल यू–१५ र यू–१६ टोलीको कप्तानसमेत रहेकी प्रीतिले दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् ।

त्यसअघि प्रीतिले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नै राष्ट्रिय टोलीबाट डेब्यु गर्न सक्थिन् । तर, व्यवस्थापकको बदमासीका कारण प्रीतिले दुई वर्षपछि मात्रै टोलीमा स्थान बनाउन सफल भइन् । पहिलोपटक टोलीमा स्थान बनाएकी प्रीतिले आफ्नो मेहनतले यो स्थानमा पुगेको र आफूलाई प्रमाणित गर्ने बताइन् । यस्तै उनले टोलीमा कान्छी सदस्य र नयाँ खेलाडीभन्दा पनि ‘सिनियर’ खेलाडीको ‘टिम मेट’ रुपमा आफूलाई स्थापित गर्ने बताइन् । 

‘प्रशिक्षणमा पहिले पनि परेको थिएँ । यसपटक छनोट भएँ, खुसी लागेको छ । मेहनत गरेको थिएँ’, नेपाल यू–१५ टोलीको कप्तानीसमेत गरेकी प्रीतिले भनिन्, ‘योभन्दा माथिल्लोस्तरमा जान एकदमै प्रयास गरिरहेको छु । आफुभन्दा धेरैनै सिनियर दिदीहरुसँग खेल्न पाउँदा म खुसी छु । यो एउटा प्रतिस्पर्धाको रुपमा पनि लिएको छु । आफूलाई जुनियरभन्दा पनि दिदीहरुको ‘टिम मेट’ रुपमा लिन चाहन्छु ।’  

आगामी असोजमा नेपालले एएफसी एसिया कप २०२२ छनोटको खेल खेल्दैछ । समूह ‘एफ’मा रहेको नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल २ असोजमा फिलिपिन्ससँग रहेको छ । यस्तै दोस्रो खेल ५ असोजमा  हङकङसँग हुनेछ । समूहको विजेताले भारतमा हुने एएफसी एसिया कपको ढोका खोल्नेछ । 

गत उपमेयर कपमा काठमाडौंबाट खेलेकी प्रीतिले राष्ट्रिय लिगमा भने विभागीय एपीएफ क्लबबाट खेलेकी थिइन् । एपीएफमा करारमा रहेकी प्रीतिले टोलीमासमेत आफ्नो प्रभाव जमाउँदै प्लेइङ सेटमासमेत केही खेल खेलिन् । 

महिला फुटबलमा एपीएफ क्लबको छुट्टै पहिचान छ । उसको घरेलु प्रतियोगितामा एकोहोरो दबदबा कायम छ । प्रीतिलेसमेत एपीएफ आएर राष्ट्रिय महिला लिगको उपाधि हात पारिन् । 

पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी प्रीतिलाई एउटा अवसर पनि छ, टोलीको सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्रा भण्डारी (साम्बा) घाइते भएसँगै उनको स्थान लिने । प्रीतिसँगै युवा तथा अन्य नियमित खेलाडीलाई त्यो अवसर रहे पनि प्रीतिलाई नै नेपाली फुटबलको भविष्यको रुपमा हेरिएको छ । 

तर, प्रीति स्वयं अर्काेको स्थान लिनेभन्दा पनि आफूलाई नै प्रमाणित गरेर राष्ट्रिय टोलीमा स्थापित खेलाडी बनाउन चाहन्छिन् ।  ‘पक्कै पनि सावित्रा दिदी (साबित्रा भण्डारी) नेपालको ‘नम्बर वान प्लेयर’ हुनुहुन्छ । उहाँ नहुँदा अलि अलि अप्ठ्यारो त हुन्छ । तर, दिदीको ठाउँ लिनेभन्दा पनि आफ्नै ठाउँ बनाउँछु भन्ने सोच बनाएको छु,’ बिहीबार एन्फा मैदानमा अभ्याससत्र अघि प्रीतिले भनिन् । 

प्रीतिले राष्ट्रिय टोलीको यो अवसरलाई दबाबको रुपमा भन्दा पनि माथिल्लोस्तरमा पुग्न मानसिक रुपमा आफू बलियो हुनेमा विश्वस्त रहेको बताइन् । ‘मलाई नेपाली फुटबलको भविष्यको पुस्ताका रुपमा हेरिएको छ । यसलाई दबाबको रुपमाभन्दा पनि सहज रुपमा लैजानुपर्छ । दबाबको रुपमा लिए मानसिक तनाव हुन्छ । यस कारण आफूले दबाबको रुपमा नलिई माथिल्लोस्तरमा पुग्न सकिन्छ भन्ने अवसर र विश्वास लिएको छु’, प्रीतिले भनिन् । 

पहिलोपटक टोलीमा स्थान बनाएकी प्रीतिले क्लब र राष्ट्रिय टोलीको अभ्यास सत्रमा केही परिवर्तन हुने र आफू त्यसमा घुलमिलको लागि प्रयास गरिरहेको बताइन् । ‘अभ्यास राम्रो भइरहेको छ । पहिलोपटक विदेशी प्रशिक्षक हुनुहुन्छ । सुरुमा मिल्न गाह्रो भयो । फेरि प्रशिक्षकसँग केही दिनमै घुलमिल भयौैँ । टेक्निकल, फिजिकल रुपमा राम्रो तयारी छ । दिदीहरुले पनि सहयोग गरिरहनुभएको छ । नयाँजस्तो अनुभव भएको छैन’, यू–१९ टोलीबाट एएफसी कप छनोट खेलेकी प्रीति भन्छिन् ।

‘राष्ट्रिय टिम र क्लबमा धेरै फरक हुन्छ ।  क्लब र राष्ट्रिय टिमकोस्तर तल माथि भइहाल्छ । क्लबमा त्यति प्रेसर हुँदैन । राष्ट्रिय टिममा मानसिक रुपमै दबाबमा भइन्छ । तर, राष्ट्रिय टिममा धेरै कुरा सिकेका छौं । क्लबमा खेलेकोभन्दा राष्ट्रिय टिममा आफ्नो खेल्ने शैली माथिल्लोस्तर लैजानुपर्छ । भइरहेको पनि छ’, प्रीति थप्छिन् ।   
उमेर समूह र क्लबमासमेत आफूलाई प्रमाणित गरिसकेकी प्रीति अब राष्ट्रिय टोलीको डेब्यु नजिक रहेकी छिन् । सम्भवतः उनी घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा हुनेछिन् । यदि विदेशी प्रशिक्षक ग्यारी फिलिप्सलाई प्रमाणित गर्नसके प्रीति २४ र २७ भदौमा हुने बंगलादेशविरुद्धको खेलमा डेब्यु नजिक रहन्छिन् ।  

‘मेरो प्रदर्शनको आधारमा मैले डेब्यू पाउने हो । मैले कुनस्तरको प्रदर्शन दिन सक्छु भन्ने हुन्छ । जहाँसम्म लाग्छ राम्रो भइरहेको छ । मैले ‘बेस्ट’ दिइरहेको छु । डेब्युभन्दा पनि आफ्नो खेललाई सुधार गर्ने र जब मौका पाउँछु तब आफ्नो राम्रो खेल दिन्छु । डेब्यूको कुरा पछि नै हुन्छ । सायद ‘चान्स’ पाउँछु होला’, मुस्कुराउँदै प्रीतिले भनिन् ।

प्रीतिसँग प्रशिक्षक ग्यारीले अन्य ६ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा मौका दिएका छन् ।  पहिलोपटक राष्ट्रिय टोलीमा परेकी प्रीतिले आफ्नो मेहनतको फल पाएको बताइन् । ‘राष्ट्रिय टोलीकै लागि भनेर मेहनत गरेको थिएँ । बल्ल आफ्नो पालो आयो भन्ने लागेको छ । यत्रो मेहनत गरेको फल अहिले आयो । प्रतिक्षाको फल मिठो हुन्छ भन्छन् । प्रतीक्षा र मेहनतको फल आयोजस्तो लाग्यो । देखाउने मौका यही हो जस्तो लाग्छ’, प्रीति भन्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: