ओलीले घर न घाटको बनाउन खोजेपछि नयाँ दल बनाउन बाध्य भयौंः माधव नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र ८

काठमाडौं । दर्ता प्रक्रियामा रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षका नेताहरुलाई घर न घाटको बनाउन खोजेको कारण नयाँ पार्टी दर्ता गर्न परेको प्रष्टिकरण दिएका छन् ।

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका समर्थक नेता र सांसदहरूलाई लिएर पार्टी विधान तथा नियमावली टुंगो लगाउन चन्द्रागिरि पुगेका माधव नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी दर्ता गर्न नदिन षड्यन्त्र भइरहेको बताए ।

‘पार्टी गठन गर्नै नदिई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ । न यता जान दिने न उता जान दिने अवस्था ल्याउने गरी षड्यन्त्र भइरहेको छ,’ उनले भने ।

एमालेमा केपी ओलीको प्रवृत्ति परिवर्तन नहुने देखेर नयाँ पार्टी गठनको अभियानमा लागेको उनले बताए ।

कुनै पद र प्रतिष्ठानको लागि नयाँ पार्टी बनाउन नलागेको प्रस्टीकरण पनि नेपालले दिएका छन् । ‘पार्टी गठनको लडाईं पदको लडाईं होइन, अहमको लडाईं पनि होइन । विचारको लडाईं हो । क्रान्तिकारी धारको जीवन्त पार्टी बनाउने अभियान हो,’ नेपालले भने ।

एमाले अध्यक्ष केपी ओलीसँग विचारमा भिन्नता भएपछि सँगै रहन नसकिएको उनले बताए । ‘केपीको कित्ता एकातिर क्रान्तिकारी कित्ता अर्कोतिर भएको छ । पार्टीबाट निस्कासन गरेपछि त्यो पार्टीका लागि ढोका बन्द भयो । निस्कासन गरेपछि कि त घुँडा टेकेर बस्नुपर्दथ्यो कि त सडकमा रहनुपर्दथ्यो । हामी त्यसो गर्न सक्दैनथ्यौँ,’ नेपालले भने ।

उनले वाग्मती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई आफूले नै मुख्यमन्त्री बन्न भनेको समेत जानकारी दिए ।

अहिले उनी अफ्ठ्यारोमा रहेको भन्दै २१ दिनभित्र उनी कुन पार्टीमा रहन्छिन् भन्नेकुरा स्पष्ट हुने बताए ।

‘मेरो सहमतिमै अष्टलक्ष्मी मुख्यमन्त्री बन्नुभएको हो, तर अहिले अप्ठेरोमा हुनुहुन्छ,’ नेपालले भने, ‘२१ दिनभित्र कता रोज्नु हुन्छ, त्यसपछि सरकारलाई सहयोग गर्ने नगर्ने निर्णय लिन्छौँ ।’ नयाँ पार्टी दर्ता भएपछि एमाले सांसदले कुन दल रोज्ने भन्ने निर्णय लिन पाउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *