बलिउडका तीन सुपरस्टार खान शाहरुख, सलमान र आमिरका समानता
यी तीनै जना खान हुन् । यी तीन जन्मिएको वर्ष पनि एउटै हो‚ अर्थात् सन् १९६५ । अर्को महत्वपूर्ण कुरा- यी तिनै जना सुपरस्टारको दबदबा बलिउडमा ३ दशकभन्दा लामो समयसम्म टिक्यो र अहिले पनि कायमै छ ।
जब यी तीन खानले बलिउडमा पाइला राखे त्यतिबेला नै उनीहरू आधुनिकीकरण र आर्थिक चपेटासँग जुध्नुपर्यो । यस्तो परिस्थितिमा पनि तीन खानले बलिउडमा कसरी संघर्षका बीच आफ्नो स्थान बनाउन सफल भए भन्ने कुरा पत्रकार कावेरी बमजईले आफ्नो नयाँ किताब ‘द थ्री खान्स : एन्ड द इमरजेन्स अफ न्यू इन्डिया’मा उल्लेख गरेकी छन् ।
आधुनिकता, संस्कार र अर्थ व्यवस्थासँगै अघि बढे
पत्रकार कावेरी बमजईले बीबीसीसँगको वार्तामा भनेकि छन्, ‘मलाई यो कुरामा एकदम उत्सुकता लाग्छ । सन् १९८८ मा जब यी तीन खानको करियर सुरु भएको थियो‚ त्यतिबेला हामीसँग एक चिजमात्र हुन्थ्यो । जस्तै: एउटा टिभी, एउटा च्यानल, एउटा टेलिफोन, सिङ्गल थिएटर । जब उनीहरुको करियरमा सफलता साथै परिवर्तन हुँदै गयो‚ पूरै भारत नै परिवर्तन भयो । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’, ‘मैने प्यार किया’ र ‘कयामत से कयामत तक’ यी फिल्मलाई नजिकबाट अध्ययन गर्ने हो भने सबै फिल्ममा राम्रो प्रेमी, श्रीमान र छोराको रुपमा यी कलाकार देखिएका छन् । यस्ता चलचित्रबाट पर्दामा मिडल क्लास परिवारको महत्व राम्रोसँग देखाइएको छ ।
विजयको स्थान राज र प्रेमले लिए
पहिले चलचित्रमा गाउँको समस्या, समाजमा हुने गरेको अन्यायको बदला र गरिबीलाई देखाइन्थ्यो । तर परिवर्तनको क्रममा ‘साथी हाथ बढाना’जस्ता पारिवारिक र सामाजिक चलचित्रबाट ‘दिल मांग मोर’जस्ता प्रेमिल चलचित्रहरू बन्न थाले । अहिले सबै परिवर्तन भइसकेको छ । केही पनि पहिलेको जस्तो छैन । काबेरी बमजई भन्छिन्, ‘९० को दशकमा मान्छेहरू मिठो खाने, राम्रो लगाउने र संसार घुम्ने चाहना राख्थे । पहिले मान्छेहरू स्विट्जरल्यान्ड जाने सपना देख्ने गर्थे तर‚ थ्री खानको चलचित्रमा देखाइने यस्ता देशहरूमा गरिएका सीनले गर्दा धेरैजसो व्यक्तिलाई त्यहाँ जाने इच्छा जाग्रित गरायो । र त्यसले गर्दा पनि विदेश जाने क्रममा वृद्धि हुन थाल्यो । विश्व नै खुल्ला थियो । भारतमा आईटी इन्डस्ट्री विकासको गतिमा थियो । कल सेन्टर खुल्दै थिए । समयको परिवर्तनसँगै चलचित्रहरूमा सामाजिक‚ पारिवारिक भूमिकामा देखिने विजयजस्ता पात्र पछि गएर ‘प्रेम’ र ‘राज’जस्ता प्रेमिल पात्रमा परिवर्तन हुँदैगए । बिस्तारै शहरीकरणको दिसातर्फ देश उन्मुख हुँदै थियो । मान्छेहरू एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै जानसक्ने भएका थिए । बिस्तारै ठूलो पर्दाबाट गाउँ र गरिबी हट्दै गइरहेको थियो । चलचित्रमा ८० को दशकमा एक आवेग र रीस देखिन्थ्यो तर‚ अहिले त्यस्तो कमैमात्र देख्न पाइन्छ ।
८० को दशकको उत्तरार्द्धमा जब लोकप्रिय हिन्दी चलचित्र बीसीआर लहरको तल डुब्दै गएको थियो‚ त्यही बेला तीन खानले पारिवारिक दर्शकलाई सिनेमाघरसम्म ल्याउने काम गरे । काबेरी भन्छिन्, ‘कयामत से कयामत तक’, ‘मैंने प्यार किया’ र ‘दिवाना’ को जमानामा आएको ‘हुकुमत’ र ‘तेजाब’ जस्ता चलचित्र आउँदा पनि दर्शकले खानका क्युट हिरोवाला इमेजलाई नै छानिदिए । जब आमिर खानले ‘पापा कहते हे बडा नाम करेगा’ गाए‚ उनले यो नयाँ पुस्ताका लागि गाएका थिए । जुन पुस्ता उमेर पुगिसकेका धमेन्द्र र पर्दामा चिच्याउने अनिल कपुरसँग जोडिन सकेका थिएनन् ।’
३० वर्षसम्मको पत्रकारितामा बिताएकी काबेरी बमजईले आफ्नो करियरमा तीन खानको बलिउड यात्रालाई नजिकबाट हेर्ने मौका मिलेको बताइन् ।
यीमध्ये कुन खानको संघर्षको यात्राबाट धेरै प्रभावित हुनहुन्छ भन्ने प्रश्नमा काबेरी भन्छिन्, ‘सबैभन्दा ठूलो चुनौती शाहरुख खानले सामना गरेका छन् । धेरै व्यक्ति बलिउड इन्डस्ट्रीमा आएका छन्‚ तीमध्ये शाहरुख खान एक हुन्‚ जो बाहिरी क्षेत्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । अमिताभ बच्चन पनि बाहिरबाट आएका हुन् तर‚ उनी गान्धीका साथीको छोरा हुन् । उनलाई सबैले त्यसरी नै चिन्थे । तर‚ शाहरुखको इन्डस्ट्रीमा कोही पनि थिएन । उनी आफ्नो प्रतिभाका कारण इन्डस्ट्रीमा प्रवेश गरेका थिए ।’
शाहरुखले टेलिभिजनमा राम्रो काम गरेपछि उनी त्यहाँबाट ठूलो पर्दातर्फ लागे । सलमान र आमिरले रिजेक्ट गरेपछि उनलाई अफर गरिएको चलचित्रमा पनि उनले काम गरेका छन् । ‘बाजीगर’ सलमान खानलाई अफर गरिएको थियो तर‚ उनले गर्न नमानेपछि यो चलचित्र शाहरुखले पाएका थिए । अर्को ‘डर’ जुन आमीर खानलाई अफर गरिएको थियो‚ यो चलचित्र पनि आमिरले रिजेक्ट गर्नाले शाहरुखको हात लागेको थियो । शाहरुखले आफ्नो जीवनमा धेरै जोखिम लिएका छन् । शाहरुख खानलाई बलिउडको पञ्जाबी हिन्दु क्लबले साथ दिएको थियो । यश चोपडा, यश जौहर, आदित्य चोपडा र करण जौहरको कारण उनी पोस्टर ब्वाई बने ।’
कयौँ गल्ती र फ्लप चलचित्र
सलमान र आमिरको बलिउडको लामो यात्राबारे काबेरी भन्छिन्, ‘आमिर र सलमान दुवै फिल्मी परिवारबाट आएका हुन् । त्यति हुँदा पनि यी दुईको फिल्मी यात्रा त्यति सजिलो भने थिएन । आमिरका बुबा हिन्दी फिल्म इन्डस्ट्रीमा कहिल्यै सफलता हात नलागेका व्यक्ति हुन् भने सलमानका बुबा सलीमले भने लेखकको रुपमा आफ्नो नाम कमाएका थिए । तर भारतको परिवेशमा लेखकलाई दिनुपर्नेजति महत्त्व दिइँदैन । यही कारणले सुरुमा यी दुईलाई पहिलो फिल्म पाउनका लागि हातगोडा नै टेक्नुपर्यो । तर जब पहिलो फिल्मबाट नै धेरै सफलता हात पर्यो‚ त्यसपछि भने तीनै खानले गल्ती गर्न सुरु गरे । अनि फिल्म पनि लगातार फ्लप हुन थाल्यो ।’
मिडियाबाट प्राप्त असन्तुष्टि र आलोचनाबाट निराश
सामाजिक सञ्जालमा आफ्नो किताब ‘द थ्री खान्स : एन्ड द इमर्जेन्स अफ न्यू इन्डिया’ को कभरपेज छानेकोबारे आमिरको ‘लगान’ मा भएको तस्विर, सलमानको ‘दबंग’ र शाहरुखको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ कै तस्विर किन छानेको भनेर मलाई धेरैले सोधेका काबेरी बताउँछिन् ।
‘यी तीनै फिल्म तीन खानको करियरको सबैभन्दा ठूलो मोड सावित भएको थियो । यी फिल्मभन्दा पहिलेका फिल्ममा खानहरूले धेरै गल्ती गरेका छन् तर‚ ती सबै गल्ती भुलेर पाठ सिक्दै तीनै खान अघि बढिरहेका छन् । सलमानको मिडियाप्रतिको उदासीनतालाई पनि मैले आफ्नो किताबमा समेटेको छु । सलमानलाई सधैँभरि मिडियाले उनलाई मन पराउँदैन भन्ने लाग्थ्यो । उनको मात्रै धेरै आलोचना हुन्छ । सडकमा सुतिरहेका व्यक्तिमाथि गाडी चलाउने केस होस् अथवा हरिण मारेको केस‚ यी सबै आरोप लाग्दा पनि सलमानका फ्यानले उनलाई सधैँ माया गरेका छन् ।’ काबेरीले भनेकी छन् ।
अब खान थर बदल्न जरुरी छैन
समाजको सोच बदलिने क्रममा थियो । त्यसैले यी तीन खानलाई आफ्नो नाम र थर बदल्नु आवश्यक परेन । काबेरी भन्छिन्, ‘अब नाम बदल्नुपर्ने झन्झट थिएन । तर यदि खान हो भने आफ्नो पहिचानको लागि धर्म सबैभन्दा ठूलो फ्याक्टर हुन्छ । आजको समयमा पहिचानको राजनीतिको जुन दौड चलिरहेको छ‚ त्यसमा धर्म, जाति र लिङ्ग सबै कुरा आवश्यक पर्ने भएको छ । तर यी तीन खान सधैँ यो कुराबाट टाढै रहेका छन् । आमिरकी श्रीमती हिन्दु थिइन् । शाहरुखकी श्रीमती पनि हिन्दू हुन् । यी दुवैले आ-आफ्नो धर्मलाई राम्रोसँग मानेका छन् ।
शाहरुख र आमिर जस्तै सलमान खानका फ्यान पनि हिन्दू र मुसलमान दुवै कुलका छन् । पढे-लेखेका सफल व्यक्ति र काम गरेर खाने वर्ग जो थोरै सफल छन्‚ यी दुवै वर्गले सलमानको तारिफ गर्छन् । यी खान आम मान्छेलाई सिङ्गल स्क्रिनबाट निकालेर मल्टिप्लेक्स थिएटरमा ल्याउन सफल छन् । खानको सन्दर्भमा रजत जयन्ती र स्वर्ण महोत्सवको कन्सेप्ट नै बिस्तारै हराउँदै गएको छ ।
‘शोले’पछि संगीत
चर्चित ट्रेड एक्सपर्ट आमोद मेहराको विचारमा यी तीन खानको सफलताको श्रेय यिनले फिल्ममा छान्ने संगीतलाई पनि दिन सकिन्छ । सबै कलाकार एक्सन हिरो बनिरहेका बेला तीन रोमान्टिक हिरोको छवी पर्दामा उत्रियो । यिनलाई साथ दियो फिल्मको संगीतले । तीन खानको फिल्ममा यति दमदार संगीत थियो कि यसले सबैलाई हलसम्म तान्यो । युवाहरूलाई रोमान्टिक फिल्म मन पर्न थाल्यो र यी हिरोहरूले युवा पुस्तालाई नै टार्गेट बनाए ।
एक्सन र रोमान्टिक छविबाट निस्किएर केही नयाँ गर्नुपर्छ
ओटीटी प्लेटफर्मको जमानामा यी कलाकारहरुलाई अब आउने दिनहरू चुनौतीपूर्ण हुन्छन् त ? भन्ने प्रश्नमा आमोद भन्छन्, ‘आमिरले आफूलाई एउटा क्यारेक्टरमा ढालिसकेका छन् । हामीले उनलाई दंगलमा देखिसक्यौँ । अब उनी यस्तै कहानीका साथ देखिइरहने छन् । अब सलमान खान र शाहरुख खानले पनि आफूलाई एक्सन र रोमान्टिकबाट निकालेर केही नयाँ गर्नुपर्ने देखिन्छ । नत्र यी दुईलाई निकै गाह्रो पर्न सक्छ ।’
सोही सन्दर्भमा काबेरी भन्छिन्, ‘यी तीन कलाकारको सफलताको यात्रा अब पनि चलिरहनेछ । चाहे ओटीटी आओस्‚ चाहे अरु कुनै प्लेटफर्म । जब फेरि एकपटक थिएटर खुल्छ यिनको प्रभाव चलिनै रहन्छ । तर पहिलेको तुलनामा केही नयाँ गर्नु जरुरी छ । दर्शकसँग तीन खानको ३० वर्षसम्मको साथ छ । यो साथ सजिलै सकिनेवाला छैन । बस् ! नयाँपन आवश्यक पर्छ ।’
–बीबीसी हिन्दी
फेसबुकबाट तपाईको प्रतिक्रिया