काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा माओवादी र काँग्रेसले आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएसँगै त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका माओवादी नेताहरुले गण्डकीमा पनि मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका हुनन् ।
समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’
अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश्कर्षहरु बैठकमा राख्दै पाण्डेले भने, ‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्यो । वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुपर्यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो ।
रिपोटिङका क्रममा पाण्डेले पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई ठाउँ दिइनुपर्ने बताए ।
पार्टी नेता अम्बरबहादुर गुरुङ कोभिड संक्रमणका कारण बैठकमा सहभागी हुन नपाएको पाण्डेले बताए ।
लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट ८ महिनाको लागि कुल प्रसाद केसी मुख्यमन्त्री भएका छन् । ८ महिनापछि काँग्रेसका विरेन्द्र कानौडिया मुख्यमन्त्री बन्ने गरी सहमति भएको छ ।
सोही अनुरुपमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि आधा कार्यकाल माओवादीको लागि छोड्नुपर्ने माग उठेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया