ओलीले लगाएका आरोपलाई हेर्ने हो भने श्रीमान श्रीमतीको पनि डिभोर्स हुन्छः माधव नेपाल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीवचनलाई हेर्ने हो भने कोही पनि बस्न नसक्ने बताएका छन् ।

ओलीले आफूमाथि सहनै नसकिने खालका वचनहरु लगाएको भन्दै ती आरोपलाई ख्याल गर्ने हो भने श्रीमान–श्रीमतीको समेत डिभोर्स हुने बताए ।

शनिबार आफू पक्षीय बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले भने, ‘उहाँले बोलेका कुरा ख्याल गर्ने हो भने श्रीमान्–श्रीमतीको समेत डिभोर्स हुन्छ। उहाँले गद्दार, देशद्रोही, अनुशासनहीन, काम नलाग्ने मान्छे, के छ हैसियत ? प्रचण्डको कारिन्दा जस्ता शब्दको प्रयोग गरिसक्नुभयो।’

आफ्नो स्वभिमानमाथि आँच आएको बताउँदै नेपालले प्रश्न गरे, ‘मान्छेको स्वभिमान भन्दा ठूलो कुरा केही हुन्छ ? समाजमा मान्छे किन बाँच्छ? अपमानित भएर बाँच्न सक्छ?

आफूहरु विभेद र अपमान विरुद्धमा विद्रोहको शंख बजाउँदै राजनीति यात्रामा अघि बढेका बताउँदै सहन नसकिने नेपालले संकेत गरे।

उनले यस्तो अवस्थामा आइपुग्दा पनि ओलीमा पश्चातापबोध नरहेको बताए। उनले भने, ‘केपी ओलीमा अहिले पनि पश्चाताप बोध छैन। अब त घैंटोमा घाम लाग्ला भन्यो, बालुवाबाट तेल निस्किएला कि भन्यो तेल निस्किदैन।’

यता नेपाल समूहले ओली पक्षको निर्णय कुरेर बसिरहेको छ । पछिल्लो समय ओली पक्षले पार्टी एकताको निम्ती चासो नदेखाएपनि नेपाल समूहले भने ओली समूहले गर्ने निर्णयको आधारमा अघि बढ्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *