काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले वैज्ञानिक भूमिसुधार लागू नभएसम्म सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान नहुने बताएका छन् ।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै गौतमले निजी स्वामित्वको जमिन हुँदासमम सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताए।
२०५१ सालदेखि हालसम्म बनेका आयोगले समस्या समाधान गर्न नसकेको भन्दै उनले सुकुम्बासीहरूको समस्या समाधानका लागि जमिनमाथिको व्यक्तिगत स्वामित्वको स्थिति अन्त्य हुनुपर्ने बताए ।
‘सरकारले चलनचल्तीको मूल्यमा किनेर व्यक्तिको जग्गा आफ्नो नाममा बनाओस् अनि उपयोगको नीति बनाएर अघि बढौँ । जमिन प्राप्त गर्नेले बिक्री गरेर अर्कै काम गर्छन् र फेरि सुकुम्बासी बन्छन् । जग्गा बाँड्ने कामले सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,’ उनले भने ।
सुकुम्बासीहरूलाई ५ कठ्ठाका दरले जमिन दिनका निम्ति वन फँडानीको विकल्प नभएको भन्दै उनले जग्गा वितरणले समस्याको समाधान नगर्ने बताए । ‘संविधानले जग्गा दिन नसक्ने स्थितिमा रोजगारी दिन भनेको छ । हामी त्यस दिशामा अघि बढेनौँ । जसरी पनि जग्गा नै बाँड्नेतर्फ लाग्यौँ । ५१ सालदेखि हालसम्म कैयौँलाई जग्गा बाँडियो तर सुकुम्बासी बढेका बढ्यै छन् । सुकुम्बासी बढ्नुको कारण खोजौँ,’ उनले भने ।
नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको भन्दै गौतमले जमिन बाँडेर यो समस्या समाधान नहुने दावी गरे । ‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने, ‘हामीले जमिन नै दिने गर्यौं भने पनि हामीसँग त्यति जमिन छँदा पनि छैन । २० लाख भूमिहीनलाई दिने जग्गा नै छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया