×

सगरमाथामा चीनले ‘लाइन अफ सेपेरेसन’ बनाउँदै

बैशाख २७, २०७८ | दाक्सु मिडिया

काठमाडौं । सगरमाथाको शिखरमा आरोहीहरुलाई सम्पर्कमा आउन नदिन चीनले ‘लाइन अफ सेपेरेसन’ बनाउने निर्णय गरेको छ ।

संक्रमण बढिरहेका बेला दुई देशतर्फबाट सगरमाथा जाने आरोहीहरुलाई सम्पर्कमा आउन नदिन रेखा कोर्न लागिएको चिनियाँ समाचार सञ्चार माध्यमले जनाएको छ।

तिब्बती पथप्रदर्शकको एउटा टोलीले सगरमाथा चढेर दुवै तर्फका पर्वतारोहीहरुबीच सम्पर्क रोक्न शिखरमा रेखा कोर्ने बताइएको छ । यद्यपि, सगरमाथाको साँघुरो र खतरनाक शिखरमा चीनले कसरी रेखा कोर्छ भन्ने स्पष्ट पारेको छैन । सगरमाथाको शिखरमा एकपटकमा मुस्किलले आधा दर्जन मानिस मात्र अटाउन सक्छन् ।रेखा कोर्न तिब्बतको भागबाट २१ चिनियाँ अधिकारी शिखरतर्फ लागेका बताइएको छ । अधिकारी पुग्नुअघि नै पथप्रदर्शकहरुले रेखा कोरिसक्ने जनाइएको छ ।

सगरमाथाको आधार शिविरमा कोभिड–१९ को लक्षण देखिएर उपचारका लागि काठमाडौं ल्याइएका करिब दुई दर्जनमा संक्रमण पुष्टि भइसकेको छ ।गत वर्ष कोरोनाभाइरसको महामारी सुरु भएपछि संक्रमण बढ्ने जोखिमका कारण चीनले आफ्नो क्षेत्रबाट आरोहण बन्द गरिसकेको छ । उसले तिब्बततर्फको आधार शिविरसम्म जानसमेत रोक लगाएको छ । तर, नेपाल सरकारले भने अझैसम्म वसन्त ऋतुको लागि खुला गरेको आरोहण बन्द गरेको छैन । वसन्त ऋतुको आरोहण सामान्यतयाः अप्रिलदेखि जुनको पहिलो सातासम्म खुला गरिन्छ । सगरमाथा आरोहणबाट नेपालले बर्षेनि ठूलो राजस्व कमाइरहेको छ ।

चीनले आरोहीबाट संक्रमण फैलन सक्ने भन्दै सगरमाथामा दुई पक्षलाई छुट्ट्याउने रेखा बनाउन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: