काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ जित्न सफल मुस्कान खातुनलाई बधाई दिएकी छन् ।
सामाजिक सञ्जाल ट्विट्मार्फत राष्ट्रपति भण्डारीले मुस्कानलाई बधाई दिएकी हुन् ।
‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद’, राष्ट्रपतिको बधाई सन्देशमा उल्लेख छ ।
अमेरिकी सरकारले तेजाव आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्ने घोषणा शुक्रबार गरेको थियो । त्यसको भोलिपल्ट मुस्कानलाई राष्ट्रपति भण्डारीले बधाई दिएकी हुन् ।
१५ वर्षीया खातुन यो अवार्ड पाउनेमध्ये संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गर्नेछन् ।
प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि तेजाव आक्रमण भएको थियो। उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया