काठमाडौँ : नेपालबाट ३७ वर्षअघि चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकाले नेपाललाई फिर्ता गरेको छ ।
सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पु¥याइएको लक्ष्मीनारायण भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच हस्तान्तरण गरेका हुन्।
दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो। त्यसलाई अमेरिकामा पुर्याइ ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा राखिएको थियो।
वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ। ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिन्छ।
सो मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पुरा गरी नेपाल पु¥याइने दूतावासले जनाएको छ ।
हस्तान्तरण समारोहमा सम्बोधन गर्दै राजदूत खतिवडाले सो महत्वपूर्ण ऐतिहासिक मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा अमेरिकी सरकारको प्रशंसा गरेका थिए। सोहि समारोहमा सम्बोधन गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपसहायक विदेशमन्त्री एर्भिन मेसिंगाले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाको सधै साथ रहने बताएका छन् ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्