धरान – नेपाल खानेपानी संस्थानको धरानस्थित शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको विरोधमा धरानमा प्रदर्शन भएको छ ।
दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको अगुवाईमा बिहीबार उपमहानगरपालिका घेराउ तथा विरोध प्रदर्शन भएको हो । त्यसक्रममा संघर्ष समिति र प्रहरीबीच उपमहानगरको गेटमा केहीबेर झडपसमेत भयो। संघर्ष समितिले विगतदेखि नै संस्थानलाई बोर्डमा मर्ज गर्न नहुने भन्दै आन्दोलन गर्दै आएको थियो । शहरी विकास आयोजनाअन्तर्गतको धरान खानेपानी उपआयोजना असफल भइसकेको दाबी गर्दै संघर्ष समितिले बोर्डले माग वमोजिम पानी वितरण गर्न नसक्ने बताउँदै आएको छ ।
बुधबार मात्रै बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले संस्थानको शाखा कार्यालयको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डले जिम्मा लिएको जानकारी गराएका थिए । उनले अब संस्थानको संरचनाहरु बोर्डमातहत आएको र खानेपानी वितरणको जिम्मेवारी पनि बोर्डको भएको बताएका थिए । यसको चौबिस घण्टा पनि नबित्दै बिहबार विरोध प्रर्दशन भएको हो । संघर्ष समितिका संयोजक हर्क साम्पाङ नेतृत्वमा विभिन्न ७ बुँदे मागसहित मेयर राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई ज्ञापन पत्र बुझाउन नगरवासीहरु गएका थिए । तर, मेयर र उपमेयर दुवै कार्यालयमा नभएको भन्दै ज्ञापन पत्र बुझ्न नआएपछि आन्दोलनकारीहरु जबर्जस्ती उपमहानगरभित्र प्रवेश गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीसँग झडप भएको थियो ।
संघर्ष समितिका संयोजक साम्पाङले अर्बौं रुपैयाँ खर्च भए पनि खानेपानी आयोजना फेल भएकोले नगरवासीलाई पानी वितरण गर्न नसक्ने बताए । उनले भने,‘आयोजना फेल भइसकेकोले बोर्डले पानी वितरण गर्न सक्दैन । त्यसैले संस्थानलाई यथावत राख्नुपर्छ भनेका हौं। हाम्रो आन्दोलन अब झन् चर्किन्छ ।’ समितिले २०७२ सालमै अइयुडिपीले १० हजार र १५ हजारको दरले पैसा उठाएको तर हालसम्म पनि धारा र पानी वितरण नगरेकोले धारा वितरण गर्न वा पैसा फिर्ता गर्न माग गरेको छ ।
यस्तै, आइयुडिपी आयोजनाले सम्झौता वमोजिम खानेपानी उत्पादन भएको प्रमाणित गर्नुपर्ने, संस्थानकै सरकारी दरमा धारा जडान शुल्क र मासिक महशुल लगाउनुपर्ने, आयोजनाको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, आयोजनाको डिजाइनबाहेक थप गरिएको २ वटा वेलहरु भासिनुको कारण छानबिन गर्नुपर्नेलगायत मागहरु संघर्ष समितिको रहेको छ । बोर्डले भने आयोजनाले लक्ष्यभन्दा बढी पानी उत्पादन गरेको दाबी गरेको छ । बुधबार पत्रकार सम्मेलनमा मेयर राईले चारकोशे जंगलस्थित ४ वटा वेलबाट ७० लाख लिटर र उदय वन समूहमा रहेको वेलबाट थप ३० लाख गरि प्रतिदिन १ लाख लिटर पानी उत्पादन भइरहेको बताएका थिए । आयोजनाले ९२ लाख लिटर प्रतिदिन पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो। धरानको खानेपानीको समस्या समाधान गर्ने लक्ष्यसहित शुरु भएको आयोजना हाल परीक्षण भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया