काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरवलोकनको निवेदन दिँदै छ ।
सर्वोच्च अदालतमा मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिइने माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताए । गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सर्वोच्च अदालतले बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ । रिट निवेदनमा माग नै नभएको विषयलाई सर्वाेच्चले गैरकानुनी रुपमा फैसला गरी पार्टी एकता बदर गरिदिएको माओवादी केन्द्रका नेताहरुको दावी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया