
काठमाडौँ – स्याङ्जाको गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालिएको पाइएको छ । कालीगण्डकीमा फालिएका सहचालकको शव आज (बुधबार) बिहान फेला परेको प्रहरीले जनाएको छ ।
चैत ५ गते राति १० बजे ढुंगा बोकेर फर्किएको ट्याक्टरका चालक र सहचालकले बीच बाटोमा मदिरा सेवन गरेको र अघि बढ्ने क्रममा सहचालक खसेर घाइते भएपछि सोही ट्याक्टरमा राखेर कालीगण्डकी नदीमा फालेर चालक र अर्का सहचालक फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द्र बोगटीले बाटोमा ट्याक्टर छाडेर सबै फरार भएपछि खोजबिन सुरू भएको र पछि खोजबिन गर्ने क्रममा अर्का सहचालक सुनील राना पाल्पास्थित घरमा पुगेको र पाल्पा प्रहरीको सहायतामा उनलाई पक्राउ गरिएको छ ।
हिजोदेखि नै गोताखोरको टोलीले शव खोजबिन गरेको थियो । तर आज बिहानमात्रै कालीगण्डकी नदीमा गाहाको शव फेला परेकाले प्रहरी अहिले घटनास्थलतर्फ जाँदै गरेको बोगटीले जानकारी दिए । ट्याक्टरका चालक अमित परियार भने अहिलेसम्म फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया