×

भ्रष्टाचारको अखडा बन्दै वीर हस्पिटल

चैत्र ९, २०७७ | दाक्सु मिडिया

काठमाडौं – नेपालकै सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर अस्पताल भ्रष्टाचारको अखडा बनेको छ । पछिल्ला दिनमा विगत लामोसमयदेखि सोही अस्पतालको मातहतमा काम गर्ने कर्मचारीहरुले भ्रष्टाचारको विरोधमा आवाज उठाउँदै आए पनि प्रशासन मौन रहेको छ ।

अस्पतालमा विभिन्न उपकरण खरिदमा, कर्मचारी छनौट, उपकरण मर्मत सम्भार, औषधी पसल सञ्चालनलगायत अन्य विविध विषयमा भएको भ्रष्टाचारको बारेमा कर्मचारीको उजुरीपछि पनि प्रशासन मौन रहँदै आएको हो ।

अस्पतालमा व्याप्त भ्रष्टाचारका विषयमा छानबिन र भ्रष्टाचारीलाई कारबाही गरी पाउँ भन्दै २०७७ साल फागुन २ गते प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालयका उजुरी दिएका छन् ।

सोही उजुरीका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले फागुन ५ गते छानबिनका लागि मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालयले फागुन १३ गते छानबिन समिति गठन गरेको थियो । तर पनि प्रशासन र भ्रष्टाचारीहरुले सो समितिलाई काम गर्न नदिएपनि छानबिन समिति पनि अलमलमै परेको छ ।

अख्तियारले वीरलाइ लेखेको पत्र ।

मन्त्रालयले सो समितिलाई १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न समयावधि दिए पनि अहिलेसम्म कुनै प्रतिवेदन नबुझाएको जनाइएको छ ।

उक्त समितिलाई ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिडेन्टेन्ड डा. सन्तोष पौडेल, वीरअस्पतालका तत्कालीन निर्देशक डा. केदार सेन्चुरी, खरिद प्रमुख भगवती थपलियाले आवश्यक कागजात उपलब्ध नगराए पछि छानबिन समिति अन्यौलमै रहेको छ । उनीहरुले समितिलाई आवश्यक कागजात उपलब्ध नगराएर भ्रष्टाचारबाट चोखिने प्रयास गरेको जनाइएको छ । तर, अहिले चैत १ गतेदेखि डा. सेन्चुरीको पदावधि भने सकिइसकेको छ ।

भ्रष्टाचारको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ कात्तिक २१ गते अस्पतालमा भएका उपकरण खरिद कहिले, कसरी गरेको र के के खरिद गरेको, बिग्रीएको उपकरणहरु कहिले, कसरी खरिद गरेको, कहिलेदेखि बिग्रीएको जस्ता विषयमा सातदिनभित्र विवरण मागे पनि अहिलेसम्म अस्पताल प्रशासनले उक्त विवरण अख्तियारमा नबुझाएको स्रोतले दाबी गरेको छ ।

यसका साथै वीरअस्पतालका कर्मचारीले दुईमहिनादेखि तलब नपाएको जनाइएको छ । विश्वभर लाखौं र नेपालमा हजारौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरस संक्रमणका समयमा काम गरिरहेका कर्मचारीलाई शैक्षिक भत्ता, कोभिड भत्ता, जोखिम भत्ता केही पाउन सकेका छैनन् ।

छानबिन समिति गठनबारे मन्त्रालयको पत्र ।

एक हजार ४५० जना कर्मचारी भएको वीरमा आधाभन्दा धेरै अर्थात् ७ सय ५० कर्मचारी प्रतिष्ठान सेवाकै छन् । तर, प्रतिष्ठान पदाधिकार हरूले आफुनिकट कर्मचारीलाई १५० प्रतिशत भत्ता खुवाऊन ८१ जनाभन्दा बढी कर्मचारी वीर अस्पतालमा काजमा राखेका छन् तिनिहरुको समायोजन भने वीर अस्पतालभन्दा बाहिर छ तर अस्पताल प्रसाशनले निजहरुलाई रमाना दिएको छैन तिनिहरु भने अस्पतालका कमाउ अड्डा मानिने स्टोर, खरिद, मेडिकल बोर्डमा बसेर अनियमितता गरिरहेको स्रोतले जनाएको छ ।

अस्पतालको सुधारको लागि कर्मचारी संघले वीर अस्पतालमा खाली रहेको निर्देशक पदमा स्वच्छ र नेतृत्व गर्न सक्ने व्यक्तिको माग गरेका छन् । उनीहरुले अस्पताल भित्रैका व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै मन्त्रालय, उपकुलपतिसमक्ष माग राखेका छन् । उनीहरुले अस्पतालका बरिष्ठ डा. भूपेन्द्र बस्नेत र दिपेन्द्र श्रेष्ठलाई निर्देशक बनाउनुपर्ने माग गरेका छन्, यी बाहेक अन्य व्यक्ति अस्पतालबाहिरबाट नियुक्त भएमा अस्पतालमा प्रवेश गर्न समेत नदिने अडानमा कर्मचारीहरु रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: