
काठमाडौं – लिग लिडर म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको गए रातिको खेलमा लिभरपुलमाथि शानदार जित हात पारेको छ । सिटीले लिभरपुललाई उसैको मैदानमा पराजित गरेको हो ।
लिभरपुलको मैदानमा सिटीलाई ४–१ गोल अन्तरको जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे । फिल फोडेन र रहिम स्ट्रर्लिङले १–१ गोल गरे । लिभरपुलका लागि मोहमद सलाहले सान्त्वना गोल गरे ।
एनफिल्डमा आक्रामक देखिएको सिटीले खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्नबाट चुक्यो । गुण्डोगानले उक्त पेनाल्टी गुमाए । पहिलो हाफमा गोलरहित बराबरी खेलको सिटीका लागि दोस्रो हाफमा गुण्डोगान नै चम्किए । ४९औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।
तर, ६३ औं मिनेटमा लिभरपुलले पाएको पेनाल्टीमा सलाहले कुनै गल्ती गरेनन् । बराबरीको अवस्थामा रहेको खेलको ७३ औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा स्ट्रर्लिङले र ८३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४–१ को सानदार जित दिलाए । जितसगै सिटीले २२ खेलमा ५० अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग ५ अंकको स्पष्ट अग्रता लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया