प्रचण्डले भने – म निस्सन्तान भइनँ, के त्यो मेरो दोष हो ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ १६

काठमाडौं – नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताएका छन्। प्रचण्डले छोराछोरीका लागि मात्र सोचेको भन्ने आरोप लगाएर आफूमाथि अन्याय भइरहेको गुनासो गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार प्रदेश १ को विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई न्याय चाहिएको समेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले आफ्ना छोराछोरीका लागि मात्रै सोचेको भन्ने आरोप लगाएकोमा त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘तैँले त छोराछोरीका लागि मात्र सोचिस् भन्दै हिँड्याछन् । मैले एउटा टेलिभिजन अन्तर्वार्तामा पनि भनेको थिएँ, सुन्न पाउनुभयो कि भएन, म नपुंसक भइनँ, म निस्सन्तान भइनँ के त्यो मेरो दोष हो ? मेरा छोराछोरीलाई पढ्न अमेरिका पठाइनँ, सँगै लिएर हिँडे त्यो मेरो दोष हो ? गणतन्त्रको लडाईं लड्दा मेरा छोराछोरी रोल्पाको जंगलमा बन्दुक बोकेर हिँडे, के त्यो मेरो दोष हो ?’

प्रचण्डले थपे– ‘अत्याचार हुन लाग्यो, ओलीले अत्याचार गर्न खोजे, म न्याय चाहन्छु आदरणीय जनसमुदायहरू ।’

गएको चुनावका बेलामा आफ्ना छोरीको र छोराको निधन भएपनि आफू देश र जनताका लागि क्रियाशील रहेको बताउँदै प्रचण्डले भने, ‘मेरा लागि सबै युवा प्रकाश (प्रचण्डपुत्र प्रकाश दाहाल) हुन् ।’

केही दिनअघि आफूपक्षीय एक भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले आफ्ना छोरी–ज्वाइँ र सन्तानका लागि मात्र सोचेको भन्दै भनेका थिए, ‘बाउ होस् त त्यस्तो, ससुरा होस् त त्यस्तो ….’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *