पोखरामा दुई दिन फोहोर नउठ्दा दुर्गन्ध, भेलले सडकभरि फोहोर छरपस्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौँ । लगातारको वर्षासँगै पोखराका मुख्य सडक फेरि जलमग्न बनेका छन् । दुई दिनदेखि फोहोर नउठाइएका कारण सडक किनारमा थुपारिएको फोहोर बिहीबार साँझ परेको मुसलधारे वर्षापछि भेलसँगै बगेर सडकभरि छरपस्ट भएको हो ।

ओरालो भू–भागका कारण सामान्य वर्षामै जलमग्न हुने पोखराका सडक बिहीबार साँझ परेको भारी वर्षापछि झन् प्रभावित बने । न्युरोड, महेन्द्रपुल, पृथ्वीचोक, सभागृह, लेकसाइडलगायत क्षेत्रका सडकमा भेलबाढी बगेपछि सवारी आवागमनसमेत प्रभावित भयो । केही स्थानमा साना सवारी साधन रोकिएकै ठाउँमा ढल्ने तथा बग्ने अवस्था देखिएको स्थानीयले बताएका छन् ।

सडक किनारमा थुपारिएको फोहोर वर्षाको भेलसँगै बगेर विभिन्न ठाउँमा फैलिएको छ । शुक्रबार बिहानसम्म पनि धेरै स्थानमा फोहोर छरपस्ट देखिएको थियो । केही क्षेत्रमा सरसफाइ सुरु गरिए पनि कतिपय स्थानमा बिहान अबेरसम्म फोहोर उठाउन नसकिएको देखिएको छ ।

पोखरामा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा बेला–बेला सडकमै फोहोर थुप्रिने समस्या दोहोरिने गरेको छ । वर्षा लागेसँगै फोहोर फैलिने र दुर्गन्ध फैलिने समस्या झन् गम्भीर बन्दै गएको स्थानीयको गुनासो छ ।

पर्यटकीय नगरीका रूपमा परिचित पोखरामा सडकभरि छरिएको फोहोर र जलमग्न सडकले शहरको सौन्दर्यमाथि समेत प्रश्न उठाएको छ । स्थानीयवासीले वर्षायामअघि नै प्रभावकारी ढल तथा फोहोर व्यवस्थापन गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *