काठमाण्डौँ । दशौं पोखरा स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत प्रदान गरिने प्रतिष्ठित ‘पिपल्स च्वाइस अवार्ड’ का लागि गण्डकी प्रदेशका चर्चित लिब्रो राजन दर्लामी मगर मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजित विशेष कार्यक्रममा विभिन्न विधाका खेलाडीहरूको मनोनयन सार्वजनिक गर्दा भलिबलतर्फ उत्कृष्ट प्रदर्शन गर्दै आएका दर्लामी उत्कृष्ट पाँच खेलाडीभित्र पर्न सफल भएका हुन् ।
गण्डकी प्रदेशको भलिबल टोलीका भरपर्दा लिब्रोका रूपमा परिचित राजन दर्लामी पछिल्ला केही वर्षयता राष्ट्रिय तथा अन्तरप्रदेशीय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । डिफेन्स, रिसिभिङ र कोर्ट कभरेजमा अब्बल मानिने दर्लामीले गण्डकी प्रदेशको टोलीलाई धेरै प्रतियोगितामा महत्वपूर्ण सफलता दिलाएका छन् । विशेषगरी राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रदेशस्तरीय लिग तथा आमन्त्रण प्रतियोगितामा उनले टोलीको रक्षापंक्तिलाई मजबुत बनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
भलिबलप्रेमी माझ लोकप्रिय बनेका दर्लामीको समर्थनमा अहिले “भोट गरेर जिताऔं राजन दर्लामी” अभियान समेत सञ्चालन भइरहेको छ । शुभेच्छुक तथा समर्थकहरूले आर्थिक सहयोग संकलन गरेर प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छन् । पिपल्स च्वाइस अवार्डतर्फ दर्लामीको भोटिङ कोड नम्बर ४ रहेको छ भने आईएमई खल्ती एपमार्फत देश तथा विदेशबाट रहेका नेपालीहरूले मतदान गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस वर्षको पिपल्स च्वाइस अवार्डका लागि फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, क्रिकेटका विपिन खत्री, मुवाथाई तथा आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा र भलिबलका राजन दर्लामी मगर मनोनयनमा परेका छन् । वर्षभरिको प्रदर्शन, लोकप्रियता र खेल योगदानका आधारमा पाँच खेलाडी छनोट गरिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार अवार्डको विजेता अनलाइन भोटिङबाट चयन गरिनेछ । मतदान प्रक्रिया औपचारिक रूपमा खुला भइसकेको छ । आईएमई खल्ती लिमिटेड गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले खल्ती एपमार्फत सहज रूपमा मतदान गर्न सकिने बताएका छन् ।
पिपल्स च्वाइस अवार्डका विजेतालाई टीभीएस एनटर्क स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।



दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्