मैदानमै ढले खेलाडी, स्ट्रेचरसमेत नभएको पिएम कप फाइनलमा व्यवस्थापनको लापरवाही

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाण्डौँ । रुकुम पश्चिम र हेल्प नेपालबीच भएको पिएम कप भलिबल फाइनल खेलपछि उत्सवको माहोल एकाएक त्रासमा बदलियो। पुरस्कार वितरणको तयारी चलिरहेकै बेला रुकुम पश्चिमका खेलाडी पुष्कर धामी अचानक मैदानमै ढलेपछि उपस्थित सबै स्तब्ध बने।

प्रत्यक्षदर्शीका अनुसार धामी केही समयसम्म सिजरजस्तो अवस्थामा थिए, जसले स्थिति अझै संवेदनशील बनायो। तर सबैलाई चकित पार्ने कुरा के थियो भने—यस्तो राष्ट्रियस्तरको प्रतियोगितामा आधारभूत स्वास्थ्य सामग्री स्ट्रेचर नै उपलब्ध थिएन।

रुकुम पश्चिमसँग आफ्नै फिजियोसमेत नभएको अवस्थामा विपक्षी टोली हेल्प नेपालका फिजियो साजन कुमार उपाध्यायले तुरुन्तै हस्तक्षेप गर्दै प्राथमिक उपचार सुरु गरे। उनले बारम्बार स्ट्रेचर माग्दा आयोजक पक्षबाट “उपलब्ध छैन” भन्ने जवाफ आएपछि अवस्था झन् गम्भीर देखियो।

अचम्म त त्यतिबेला भयो जब आयोजकले स्ट्रेचरको सट्टा टेबलमा बिछ्याउने कपडामै खेलाडीलाई बेरेर लैजाने प्रयास गरे। यस्तो दृश्यले प्रतियोगिताको स्वास्थ्य व्यवस्थापन कति कमजोर थियो भन्ने स्पष्ट पारेको थियो।

सौभाग्यवश, फिजियो उपाध्यायको समयमै गरिएको प्रयासले केहीबेरमै धामीको होस फर्कियो। अन्ततः उनी आफैं हिँडेर उपचारका लागि मैदान बाहिरिएका थिए, जसले ठूलो दुर्घटना टरेको संकेत दियो।

यो घटनाले एउटा गम्भीर प्रश्न खडा गरेको छ—राष्ट्रियस्तरको प्रतियोगितामा पनि यदि यस्तो आधारभूत स्वास्थ्य तयारी छैन भने खेलाडीको सुरक्षा कसरी सुनिश्चित हुन्छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *