काठमाडौँ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा–आराधना गरी मनाइँदैछ।
किरात राई समुदायमा बाली लगाउनुअघि गाउँ–गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग खेतीपाती होस् भन्ने कामना गर्दै प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ। यो समयमा गर्मी बढ्दै जाने र समुदायका मानिसहरू बेँसीबाट लेकतर्फ उँभो लाग्ने भएकाले यस पर्वलाई ‘उभौली’ भनिएको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी तथा जङ्गली जनावरसमेत उँभो लाग्ने विश्वास गरिन्छ। यस अवसरमा चण्डी नाच पनि नाचिन्छ, जसका कारण यस दिनलाई ‘चण्डी पूर्णिमा’ पनि भनिन्छ। किरात समुदायका विभिन्न समूहबीच साकेला नाच नाच्ने प्रचलन पनि छ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । किरात समुदायभित्र केहीले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते मनाउने गर्छन् भने उधौली पर्व दक्षिणायन सुरु हुने दिन साउन १ गते मनाउने गरिन्छ। यद्यपि धेरैले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली मंसिर शुक्ल पूर्णिमाका दिन मनाउने गरेका छन् ।
यो पर्व किरात राई समुदायको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । उभौली पर्व, बुद्ध जयन्ती तथा श्रमिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्