काठमाडौं । कैलालीका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ ।
किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए ।
टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए । उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन् । केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ ।
टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताए ।
खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगञ्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब रु चार हजारमा बिक्री हुने गरेको छ । ठकुल्लाले हालसम्म चार सय क्विन्टल गहुँ प्रतिक्विन्टल रु चार हजारका दरले बिक्रीका लागि नेपालगन्ज पठाइसक्नुभएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्