काठमाडौँका विभिन्न यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १८

काठमाण्डौँ । काठमाडौँका विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने र सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने बहानामा सेवाग्राहीलाई हैरानी दिइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्वयम्भू प्रहरीले सानोभर्‍याङस्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा रौतहटका बल बहादुर सुनार, रामेछापका विज्ञान राई र रमेश कार्की, काठमाडौँका संजय राजवाहक र विमल तामाङ, कैलालीका सुमन प्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साल रहेका छन् ।

त्यसैगरी, थानकोट प्रहरीले गुर्जुधारास्थित यातायात कार्यालयबाट अन्य ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँका पासाङ तामाङ र सुदिप मगर, काभ्रेका सुनिल लामा, धादिङका बुद्ध तामाङ र अमन तामाङ, मकवानपुरका सुमेश नेपाली, बझाङका उज्वल सिंह र मोरङका दिलिप राई रहेका छन् ।

यातायात कार्यालयहरूमा विचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement