काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि चर्किने संकेत देखिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन् ।
आइतबार धुम्बाराहीमा बसेको उक्त समूहको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बोलाएर हालै सम्पन्न निर्वाचनको समिक्षा गर्ने निष्कर्ष निकालेको हो । बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विभिन्न पदाधिकारी तथा कार्यसम्पादन समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
नेता मीन विश्वकर्माका अनुसार बैठकको मुख्य उद्देश्य निर्वाचनको परिणामको समीक्षा गर्नुका साथै पार्टीको आगामी कार्यनीति तय गर्नु हो। केन्द्रीय कार्यसमिति बैठकको मिति भने आपसी सहमतिमा छिट्टै निर्धारण गरिने बताइएको छ ।
यसअघि विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। तर देउवा–कोइराला समूहले उक्त प्रक्रिया अस्वीकार गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन हाल विचाराधीन अवस्थामा छ।
निर्वाचन आयोगले भने थापा नेतृत्वलाई आधिकारिक मान्यता दिइसकेको छ। सोही नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय बेहोरेपछि पार्टीभित्र समीक्षा प्रक्रिया सुरु भएको छ। थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक चलिरहेकै बेला अर्को समूहले समानान्तर बैठक बोलाउने निर्णय गर्नुले आन्तरिक विवाद अझ गहिरिने अनुमान गरिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्