काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी ७ चैतदेखि ४ वैशाखसम्म सञ्चालन हुने तय भएको छ।
यस वर्षका खेलहरू मुख्यतः मधेश प्रदेशको पर्सा र जनकपुरमा आयोजना गरिनेछन्। प्रतियोगिताका प्रारम्भिक केही खेल भने काठमाडौंका त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा पनि हुने जनाइएको छ। प्रतियोगिताको अधिकांश खेल तथा फाइनल भने मधेश प्रदेशमै सम्पन्न गरिनेछ।
तालिकाअनुसार प्रतियोगिताको उद्घाटन दिन जनकपुरमा कोशी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने पर्सामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ।
यसैबीच, यसअघि स्थगित भएको जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलको मिति पनि पुनः तय गरिएको छ। निर्वाचन र लिग–२ क्रिकेटका कारण सरेको फाइनल अब ३ देखि ५ चैतसम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुने भएको छ।
यसअघि फाइनल १७ देखि १९ फागुनका लागि तय गरिएको थियो। पछि मिति सारेर २१ देखि २३ चैत राखिएको भए पनि लिग–२ क्रिकेट स्थगित भएपछि फाइनललाई अगाडि सारेर नयाँ मिति तय गरिएको हो।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्