काठमाण्डौँ । होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संवेदनशीलता र होली पर्वलाई मर्यादित बनाउन प्रशासनले कडा सुरक्षा निर्देशिका जारी गरेको हो ।
प्रशासनले सूचना जारी गर्दै विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पांग्रे तथा चार पांग्रे सवारी साधन सञ्चालन गर्न पाइने छैन । आदेश उल्लंघन गरेमा प्रहरीले तत्काल नियन्त्रणमा लिने चेतावनी दिइएको छ ।
त्यस्तै, फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री वितरण पूर्ण रूपमा निषेध गरिएको प्रशासनले जनाएको छ । प्रजिअ कडरियाले मादक पदार्थ सेवन गरी सवारी चलाउने, जबर्जस्ती रङ लगाउने, लोला हान्ने, पानी वा हिलो छ्याप्ने, नमेटिने रंग प्रयोग गर्ने, जिस्काउने, जबर्जस्ती नसालु पदार्थ खुवाउने, डिजे बजाउने तथा अमर्यादित व्यवहार गर्ने जस्ता गतिविधि नगर्न कडा निर्देशन दिएका छन् ।
शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालयले सबैलाई सभ्य, सुरक्षित र मर्यादित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्