निर्वाचनअघि विभिन्न जिल्लामा तनाव, मानव अधिकार आयोगद्वारा संयमता अपनाउन आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका गतिविधि र घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

आयोगका अनुसार दाङलगायत केही जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच विवाद सिर्जना भएका छन् भने रौतहट र पर्सा जिल्लामा विभिन्न समूहबीचको झडपका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको छ । यस्ता घटनाले शान्तिसुरक्षा र निर्वाचन वातावरणमा थप चुनौती उत्पन्न गरेको आयोगको ठहर छ ।

राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताबाट एकअर्काप्रति गरिने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले सामाजिक तथा सांस्कृतिक सद्भाव विथोलिन सक्ने र निर्वाचन वातावरण अस्थिर बन्न सक्ने आयोगले जनाएको छ । साथै, निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भएको विषय अनुगमनका क्रममा र सामाजिक सञ्जालमार्फत देखिएको आयोगले उल्लेख गरेको छ ।

निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावक सबैको जिम्मेवार भूमिका आवश्यक रहेको आयोगले औंल्याएको छ ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रूपमा सम्पन्न गर्न सबै पक्षले धैर्यता र संयमता अपनाउन आग्रह गरेका छन् । उनले अमर्यादित तथा घृणायुक्त अभिव्यक्ति नदिन, शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्न तथा नागरिकको मानव अधिकारको सम्मान गर्दै देशको शान्तिसुरक्षा मजबुत बनाउन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *