काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई अनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न आग्रह गरेकी छन् । नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसीसी) मध्यतालिम शिक्षालय हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका निकै प्रभावकारी हुने उल्लेख गर्दै उनले अनुशासनलाई जीवनशैली बनाउन र राष्ट्रप्रेमलाई कर्ममा उतार्न युवाहरूलाई आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले युवाहरूलाई व्यवहारमै इमानदार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रूपमा प्रस्तुत हुन सुझाव दिइन् । उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन जोड दिँदै नेपालको विविधतालाई सम्मान गर्न र म नेपाली हुँ भन्ने भावना आत्मसात् गर्न आग्रह गरिन् ।
राष्ट्रिय सेवा दलमार्फत हरेक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङ्ख्या आगामी वर्षदेखि वृद्धि गर्न सरकारले प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन् । एनसीसीले सिकाएको समयपालन र नेतृत्व क्षमताले जीवनभर साथ दिने उनको विश्वास छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट कुल सात हजार ७१० छात्रछात्रा एनसीसी तालिममा सहभागी भएका छन्। जसमध्ये सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएको शिक्षालयका प्रमुख सेनानी दिनेश चौलागाईँले जानकारी दिए । नवलपरासीको हात्तिखोरस्थित शिक्षालयमा मात्रै ५३० छात्रछात्रा दीक्षित भएका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्