एनपीएलमा आज ‘डर्बी डे’ : पूर्व–पश्चिमका दुई–दुई टिम आमनेसामने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दिन ‘डर्बी डे’ का रूपमा मनाइँदै छ, जहाँ पूर्वका दुई टिम र पश्चिमका दुई टिम आमनेसामने हुँदैछन्।

आज बिहान पौने १२ बजे पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दैछन्। पहिलो दुई खेलमा लगातार जित निकालेर उत्कृष्ट सुरुआत गरेको विराटनगर तेस्रो जितको लक्ष्यसहित मैदान उत्रिंदैछ। पहिलो खेलमा पराजय बेहोरेको जनकपुर भने दोस्रो खेलमा जित हात पर्न चाहन्छ। गत संस्करणको उद्घाटन खेलमै भेटिएका यी दुई टिममध्ये त्यतिबेला जनकपुर ८ विकेटले विजयी भएको थियो।

आजको दोस्रो खेल अपरान्ह ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुनेछ। कर्णालीले २ खेलमा १ जित र १ हार दर्ता गरेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ। पहिलो संस्करणमा भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो।

अंकतालिका यस्तो छ

हालसम्म एनपीएल २०२५ मा ८ खेल सम्पन्न भएका छन्।

  • २ खेलमा २ जितसहित सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स ४–४ अंकमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
  • २ खेलमा १ जित र १ हार गरेका कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स तेस्रोदेखि छैटौं स्थानमा छन्।
  • १ खेल खेलेर हार बेहोरेको जनकपुर बोल्ट्स सातौं स्थानमा छ।
  • २ खेलमा हार मात्र हात पारेको पोखरा एभेन्जर्स अन्तिम अर्थात् आठौं स्थानमा छ।

आजका दुवै खेलले अंकतालिकाको माथिल्लो तथा तल्लो समूहका टिमबीचको अन्तर अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *