काठमाडौँ : सर्लाहीको ईश्वरपुरमा आज बिहान गुडिरहेको कार पोखरीमा खस्दा डुबेका २ जना मृत फेला परेका छन्। सर्लाही प्रहरीका अनुसार ईश्वरपुरस्थित बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहानै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो।
सशस्त्र प्रहरीको उद्धार टोलीले कारसँगै पोखरीमा डुबेका महोत्तरीको गौशाला नगरपालिका-१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो (चालक) र महोत्तरीकै सोनमा गाउँपालिका-८ का अन्दाजी ३७ वर्षीय रामाकान्त ठाकुरको शव बिहान साढे ८ बजे निकालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
‘त्यही कारमा रहेका एक जना गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएछन्’, डीएसपी श्रेष्ठले भने बाँकी २ जना भने मृत भेटिए।’
उनका अनुसार उद्धार टोलीले कार पनि फेला पारिसकेको छ। साँघुरो बाटोमा गुडिरहेको कार आज बिहान ४ बजेतिर अनियन्त्रित भएर छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा खस्दा दुर्घटना भएको हो।
स्थानीयले बिहान साढे ४ बजे प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय केशरगन्ज, भक्तिपुर र सशस्त्र प्रहरी बल सागरनाथ बेससहित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी बर्दिवासको टोली घटनास्थल पुगेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया