
विराटनगर : मोरङमा प्रेसर कुकर पड्किँदा घाइते भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा मगर घाइते भएकी थिइन् । उनको १२ दिनपछि मृत्यु भएको हो ।
कुकरको सिट्ठीले निधारमा लागेर घाइते भएपछि मगरलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । मगरको उपचारकै क्रममा बिहान ८ बजेतिर मृत्यु भएको जोशीले बताए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया