ललितपुरमा थप ६ जनाको शव भेटियो, मृतककाे संख्या ४० पुग्याे

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १५

ललितपुर : वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।

फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराइन्।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल–२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल–३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उहाँकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् ।

त्यस्तै रौतहट घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष पाँचका सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं ६ घर भई ललितपुर–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महाङ्काल वडा नं २ बस्ने वर्ष १२ की सञ्जिता स्याङ्तान, वर्ष ३५ का छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको) बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *