×

इथानोलको मूल्य एक महिना भित्र तोक्छौँ : मन्त्री भण्डारी

भदौ २४, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा सरकार धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार काठमाडौँमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत् बहस’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिना भित्र टुङ्ग्याउँछौँ’ मन्त्री भण्डारीले भने । इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको उनले बताए ।

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए । पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने विषय पछिल्लो समय निकै चर्चामा छ ।

२०६० सालमा नै इथानोल उत्पादन र प्रयोगको नीति बने पनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिबद्धता जनाएको छ ।

कियान केमिकल विज्ञ दिनेश पौड्यालले पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने धारणा राखे । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित भएको बताए ।

‘इथानोलको उत्पादन सम्भावना के हो ?, नेपालमा यो उत्पादन गर्न सकिन्छ सकिँदै ? फेरि उत्पादन भएपनि बजारको माग धान्न सक्छ कि सक्दैन ?’ उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुने पौड्यालले बताए ।

पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिने उदाहरण नेपाल आयाल निगमले प्रस्तुत गरेपछि पौड्याले त्यसको खण्डन गरे ।

त्यस्तै पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाए । ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रूपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक हो भन्नेबारे पनि प्रश्न गरे ।

‘केही समय अघिसम्म नेपालले ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दै गर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको किन आवश्यक पर्‍यो ?’ उनले जिज्ञासा राखे ।

तथापि, आफूहरू पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) बताउँदै उनले बरु ढुवानी भाडा चाहिँ राम्रो दिन आग्रह गरे ।

‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झन्डै ४० वर्षपछि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौँ । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो’ उनले संशय व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: