किन बढ्दै छ बच्चा नै नजन्माउने दम्पतीको संख्या ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ५

काठमान्डौ : ‘दुई सन्तान ईश्वरको वरदान।’ एक समय यो भनाइ निकै चर्चित थियो। बिस्तारै मानिसहरु एक सन्तानमा चित्त बुझाउने भए। पछिल्लो पुस्ताका अधिकांश दम्पतीका एक सन्तान छन्। आउँदो पुस्ता त झन् सन्तान सुखबाट विमुखजस्तै छ। यो पुस्ता करिअरमा केन्द्रित भएका कारण पनि उनीहरुको ध्यान बच्चामा छैन।

पछिल्लो पुस्ताका अधिकांश दम्पती आफ्नो माया आफैँले गर्ने हो भन्नेमा पुगिसकेका छन्। उनीहरु धेरै पैसा कमाउन चाहन्छन्। उनीहरु आफ्नो जीवन राम्रोसँग बिताउनुपर्छ भन्ने उनीहरुको धारणा छ।

त्यस्ता जोडीहरूलाई डिंक (डुअल इनकम, नो किड्स) भन्ने गरिन्छ। केही दशकअघि नै प्रचलनमा आएको यो पदावली केही वर्षयता धेरै लोकप्रिय भएको छ। पछिल्लो समय परिवार बनाउने र बुढेसकालमा छोराछोरी सहारा हुन्छन् भन्ने कुरामा विश्वास नगर्ने दम्पतीहरुको संख्या बढ्दो छ। यी दम्पती आफ्नो जीवनमा जे कुराले खुसी दिन्छ त्यही गर्न रुचाउँछन्।

एक अध्ययन अनुसार विश्वमा यस्ता जोडीको संख्या क्रमशः बढ्दै गएको छ। समय बदलिएसँगै समाजको जीवनशैली पनि परिवर्तन हुन्छ। अहिलेको पुस्ता विशेषगरी सहरमा बस्ने युवाहरू आफ्नो करिअरमा पूर्ण सन्तुष्ट भएपछि मात्रै विवाहको बारेमा सोच्छन्। केटा होस् अथवा केटी, आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्ने परम्परा बढ्दो छ।

ठीक समयमा विवाह गरेका दम्पती पनि परिवार योजनाका लागि हतार गर्दैनन्। विवाहपछि आफ्नो सपना पूरा गर्न चाहन्छन्। त्यसपछि मात्रै परिवारलाई अगाडि बढाउने सोच हुन्छ। बच्चा जन्माउन नचाहने अन्य धेरै कारण हुन सक्ने विशेषज्ञहरु बताउँछन्।

अमेरिकी लेखक डब्ल्यू मुनले यस विषयमा एउटा पुस्तक पनि लेखेका छन्, ‘लिभिङ द डिंक लाइफ।’ यस पुस्तकमा, उनले बच्चा जन्माउन नचाहने र आफ्नो करिअर बनाउन चाहने दम्पतीहरूको जीवन कसरी उत्तम हुन्छ भनेर बताएका छन्। जहाँ डिंक जोडीका बारेमा चर्चा गरिएको छ।

बच्चालाई संसारमा ल्याउनु ठूलो निर्णय हो। त्यसैले धेरै जोडीहरूका लागि आमाबाबु बन्ने निर्णय एकदमै व्यक्तिगत कुरा हो। सामाजिक अपेक्षादेखि आफ्नै इच्छा र परिस्थितिसम्मले मानिसहरुको सन्तान चाहनालाई प्रभाव पार्ने गर्छ।

इन्टरनेसनल जर्नल अफ रिसर्च इन सोसल साइन्सकामा प्रकाशित एक अध्ययनमा भनिएको छ, ‘आजकल धेरै दम्पतीहरूले बच्चा नजन्माउने निर्णय गर्छन्। केवल बच्चा जन्माउनु र आफ्नो बुढेसकाल सुरक्षित गर्न लगानी गर्नु सही निर्णय होइन। बच्चा जन्माउनको लागि तपाईं मानसिक, शारीरिक र आर्थिक रूपमा तयार हुनुपर्छ।’

अमेरिकामा गरिएको एक सर्वेक्षणका अनुसार यस्ता दम्पतीमध्ये ३३ प्रतिशतले आर्थिक स्वतन्त्रताका लागि बच्चा नजन्माएको बताएका छन्। २८ प्रतिशत दम्पतीले सहज जीवनका लागि बच्चा नजन्माएको बताएका थिए भने आर्थिक अभाव २६ प्रतिशतले र स्वास्थ्यका कारण १३ प्रतिशत दम्पतीले बच्चा नजन्माएको बताएका छन्।

समाजमा डिंक जोडीको आलोचना समेत हुने गरेको छ। यस्ता जोडीलाई समाजले स्वार्थी र परम्पराविरोधीको आक्षेप लगाउने गरेको छ। एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डियाले गरेको सर्वेक्षणले यस्ता जोडीहरु बढी खर्चालु हुने देखाएको छ। उनीहरु मनोरञ्जन र बाहिरी घुमघाममा पनि धेरै समय खर्च गर्ने स्वभावका हुन्छन्। ६५ प्रतिशत मानिसले बच्चा नहुँदा जीवनमा ज्यादा आर्थिक स्वतन्त्रता हुने स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *